Logo

सहकारी ठगी प्रकरण: निमोनिया भएपछि छविलालको बयान रोकियो



काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा गत आइतबारबाट कास्की प्रहरीको हिरासतमा रहेका गोर्खा मिडियाका तत्कालीन प्रवन्धक निर्देशक तथा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई निमोनिया भएको छ ।

हिरासतमा रहेका जोशीलाई निमोनिया देखिए पछि बुधबारको बयान रोकिएको स्रोतले जनाएको छ । जोशी आइतबार काठमाडौंबाट पक्राउ परेका थिए । सोमबार जिल्ला अदालतले ५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । सो म्याद आज सकिँदैछ । जोशीलाई म्याद थपका लागि आज अदालत पनि लगिने प्रहरीले जनाएको छ ।

पूर्वडीआईजी जोशी, पूर्वगृहमन्त्री रवि लामिछाने र सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई व्यापारिक साझेदार हुन् । उनीहरुले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँचवटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय विशेष छानबिन समितिको निष्कर्ष छ ।

जोशी पक्राउ परेपनि लामिछाने पक्राउ परेका छैनन् । यता जीवी राई लामो समयदेखि फरार छन् । जोशीले बयानका क्रममा रवि र जीवी दुवैको नाम पोलेको स्रोतको भनाइ छ । जोशी पक्राउ परेकै दिन पूर्व गृहमन्त्री लामिछानेलाई पनि पक्राउ गर्ने तयारी सरकारले गरेको थियो । तर, रविलाई पक्राउ गर्ने तयारीबाट एकाएक सरकार ब्याक भएको छ ।



प्रतिक्रिया दिनुहोस्