Logo

सहकारी ठगी प्रकरणः एमाले नेता ऋषिकेशकी श्रीमतीलाई उन्मुक्ति दिन चलखेल सुरु



काठमाडौं, १० असोज । कोशी प्रदेश सहकारी रजिष्टारको कार्यालयले उमागौरी कृषि सहकारी ठगी प्रकरणमा अञ्जला कोइरालाको नाम हटाएर अनुसन्धानको लागि प्रहरीलाई पत्राचार गरेको छ । अञ्जला नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती हुन् । उमागौरी सहकारीको रकम हिनामिनामा संलग्न रहेको भनी उनीसहित सहकारीका सञ्चालकहरु विरुद्ध उजुरी परेको थियो ।

सहकारी ठगी गरेको आरोपमा पूर्व सञ्चालक रहेकी अञ्जलासहित अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण शाह, सचिव आलम अन्सारी मियाँ, कोषाध्यक्ष शम्भुप्रसाद सिंह, सदस्यहरू आमोद मण्डल, रोशन राजवंशी र जितमान ठाकुर तथा लेखा समिति संयोजक विजयकुमार यादव, सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासविरुद्ध उजुरी परेको थियो ।

मोरङको धनपालथाल गाउँपालिका– ४ उमागौरीको १४ करोड ५६ लाख हिनामिना भएको पाइएको छ । उक्त सहकारीको संस्थापक एमाले नेता ऋषिकेश स्वयं हुन् । गत २०६८ सालमा स्थापना भएको सो सहकारीका अञ्जला छ वर्ष सञ्चालक रहेकी थिईन् । सो सहकारीको अञ्जला सञ्चालक रहेको अवधिसहित १० वर्षको कागजात नै गायव पारिएको बताइएको छ ।

प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयका निमित्त रजिष्टार हरि बहादुर खत्रीले उमागौरी सहकारीको वर्तमान कार्यसमितिमाथि अनुसन्धान गर्न पत्राचार गरिएको बताए । निमित्त रजिष्टार खत्रीका अनुसार ०६८ मा दर्ता भएको उक्त सहकारीले ०७८ सम्म नियमक निकायलाई कुनै पनि कागजात उपलब्ध गराएको छैन ।

निमित्त रजिष्टार खत्रीले अञ्जला उक्त सहकारीको सञ्चालक हुन् भन्ने कुरा पुष्टि हुने कागजातसमेत प्राप्त भइनसकेकाले अहिले वर्तमान कार्यसमितिलाई अनसन्धान गर्ने र पछि खुल्न आएको खण्डमा थप अनुसन्धानको लागि सिफारिस गरिने बताए ।

‘अहिलेको समितिलाई अनुसन्धानको लागि पत्राचार गरेको हो । २०७८ सालमा अहिलेको नयाँ समिति गठन भएको रहेछ । पहिला दर्ता हुँदा पनि समितिमा यिनै मान्छेहरु रहेको पाइएको छ । दर्ता भएपछि ०७८ सम्मको कुनै पनि कागजात हामीसँग उपलब्ध छैन । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय खडा भएपछि हामीले खोजी गरेको विषय हो । कहिले पनि यसले विवरण दिएन । कार्यालय अनुगमनको क्रममा पनि डकुमेन्ट पाइएन । अहिले त कार्यालय बन्द छ,’– निमित्त रजिष्टार खत्रीले रिपोर्टर्स नेपालसँग भने ।



प्रतिक्रिया दिनुहोस्