Logo

उपसभामुख रानामाथिको संकट कायमै



काठमाडौं । भीसाको अन्तवार्ताका लागि समय मिलाईदिन भन्दै ५ जना युवाको लागि अमेरिकी दूतावासलाई पत्र लेखेर विवादमा तानिएकी प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको पद तत्कालका लागि जोजिएपनि संकट भने कायमै रहने देखिएको छ ।

झण्डै १ वर्षअघि लेखेको पत्र विवादमा तानिएपछि रानामाथि सत्तारुढ दलले महाअभियोग लगाउने प्रयास गरेका थिए । यद्यपि त्यो सफल भएन । संसदको गत अधिवेशनमै रानामाथि महाअभियोग लगाएर हटाउन नेपाली कांग्रेस र नेकपा एमालेले प्रयास गरेको थियो । तर,बहुमत जुटाउन नसक्दा तत्कालका लागि निर्णय होल्ड गराईएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुईतिहाई बहुमत भएपनि रानामाथि महाअभियोग लगाउने कुरामा भने साना दलले साथ नदिने देखेपछि सरकार पछि हटेको थियो । कांग्रेसकै संस्थापन इतर समूहका नेताहरु डा शेखर कोइराला र अर्जुननरसिंह केसीसहितका नेताहरु रानाको पक्षमा देखिएका छन् । जसले गर्दा कांग्रेस पनि तत्कालका लागि हच्किएको थियो ।

रास्वपाबाट सांसद बनेर उपसभामुख बनेकी रानालाई हटाउन लागिएको भन्दै रास्वपासहितका प्रतिपक्षी दलले दरीलो साथ दिएका थिए। प्रतिपक्षीको चर्को विरोध र सत्तारुढ दलभित्र पनि एकमत नहुँदा गतअधिवेशनमा उपसभामुख फेर्ने प्रयास सफल भएन । १ वर्षअघि लेखेको पत्रलाई बाहना बनाएपनि वास्तवमा संवैधानिक परिषद्मा बहुमत पुर्याउन रानालाई फाल्न लागिएको भन्दै विरोध भएको थियो ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा सत्तापक्ष भन्दा प्रतिपक्ष बढी हावी रहेको छ । प्रधानमन्त्री ओली र सभामुख देवराज घिमिरे एमाले पृष्ठभूमिका रहँदा राष्ट्रिय सभा अध्यक्ष, प्रतिपक्षी दलको नेता र उपसभामुख विपक्षी दलबाट छन् । जसले गर्दा सरकार अल्पमतमा परेको छ । रानालाई हटाएर नेपाली कांग्रेसबाट उपसभामुख बनाउने सरकारले तयारी गरेको थियो । त्यसका लागि कांग्रेसले उपसभामुख बन्ने पात्रको नामसमेत तयार पारेको चर्चा छ ।

तत्कालका लागि रानामाथिको संकट टरेपनि कालान्तारमा यो प्रकरण फेरि देखापर्ने खतरा बढेको छ । उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओली अमेरिकाबाट फर्किएपछि फेरि एकपटक कोशिस गरिने भएको छ । ओली अमेरिकाबाट फर्किएपछि कांग्रेसको असन्तुष्ट पक्षसँग कुरा गर्ने र साना दललाई फकाएर प्रक्रिया अघि बढाउने तयारी छ । त्यसका लागि विभिन्न तहमा छलफलसमेत चलेको स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्