Logo

सहकारी ठगी मुद्दाका अभियुक्त नेपालीलाई बम्पर उपहार, मिलापत्रको च्यानल मिलाएर पक्राउ



काठमाडौं, ११ असोज । बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । उनी भारतको दिल्लीस्थित विमानस्थलबाट पक्राउ परेका हुन् । सहकारी ठगी मुद्दामा १६ महिनादेखि फरार रहेका नेपाली सरकारले कानुनी प्रवधान खुकुलो पारेसँगै पक्राउ परेका हुन् ।

सरकारले अब बैंकिङ कसुर र सहकारी ऐनअन्तर्गतका मुद्दामा मिलापत्र गर्न सकिने प्रवधान ल्याएको छ । महान्यायाधिवक्ताको कार्यालयले ऋण लिएका व्यक्तिले ऋण चुक्ता नगरेको कारणले उत्पन्न भएको बैंकिग कसूर वा सहकारी ऐन अन्तर्गतको कसूरको सम्बन्धमा मुद्दा दायर हुनुभन्दा अगाडि तिर्नु पर्ने सावाँ, ब्याज भुक्तान गरेको प्रमाण पेश गरेको मुद्दामा अभियोजन नगर्ने निर्णय गरेको थियो ।

तर, नेपालीविरुद्ध जिल्ला अदालत बागलुङमा मुद्दा दायर भइसहेको छ । महान्यायाधिवक्ता कार्यालयको निर्णयले बैंकिङ तथा सहकारी ऐनअन्तर्गतका मुद्दा चलिसकेको अवस्थामा पनि मिलापत्र गर्न चाहेमा मिलापत्र गर्न आदेश दिने निर्णय गरेको छ ।

ढोरपाटन नगरपालिका प्रमुख रहेका नेपालीले सबै बचतकर्ताको बचत फिर्ता गर्ने सम्पत्ति आफूसँग रहेको बताउँदै आएका छन् । उनले सामाजिक सञ्जालमार्फत ४४ ठाउँमा घर जग्गा रहेको बताएका थिए । उनले उक्त घर जग्गा बेचेर बचतकर्ताको बचत फिर्ता गर्न वातावरण मिलाइदिन सरकारलाई आग्रह गरेका थिए ।

सहकारी बचत रकम दुरुपोग सम्बन्धमा संसदीय छाविन विशेष समितिलाई उनले हुलाकमार्फत पत्र पठाउँदै नेपाल फर्किने र ऋण तिर्ने सहज वातावरण बनाइदिन आग्रह गरेका थिए । यसरी मिलापत्रबाट मुद्दा टुङ्गिँदा उनको मेयर पद पनि जोगिने छ ।

‘अभियोजन गरिएको भएपनि सम्बन्धित बैंक वा वित्तिय संस्था वा सहकारी संस्था वा पीडित व्यक्ति र प्रतिवादीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११७ (२) तथा नेपाल सरकार वादी हुने फौजदारी मुद्दामा मिलापत्र गर्ने आदेश गर्दा अपनाउनु पर्ने मापदण्ड, २०८० बमोजिम प्रक्रिया पूरा गरी मिलापत्र गर्न चाहेमा मिलापत्रको लागि आदेश दिने,’– महान्यायाधिवक्ताको कार्यालयबाट जारी भएको निर्देशनमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्