Logo

झ्याप्लेखोला बस दुर्घटना: मृतक १४ मध्ये ८ जनाको पहिचान खुल्यो



काठमाडौं । रुपन्देहीको बुटवलबाट शुक्रवार बिहान काठमाडौं जाँदै गरेको माइक्रो बस धादिङको झ्याप्लेखोलामा पहिरोमा पुरिँदा ज्यान गुमाउने १४ जनामध्ये ८ जना यात्रुको पहिचान खुलेको छ । लु १ ज ४५७८ नम्बरको माइक्रो पुरिएर १४ जनाको मृत्यु भएकोमा आइतबार बिहानसम्म ८ जनाको को पहिचान खुलेको हो ।

शुक्रवार साँझ पुरिएको गाडी र यात्रु शनिवार रातिमात्रै फेला परेका थिए । गाडी चालक रमेश लुइँटेलसहित १४ जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृतक १४ मध्ये स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ३ स्थायी घर भर्इ हाल बुटवल बस्ने सीता भट्टराई, दीपिका भट्टराई र छोरा दीपेशको पहिचान खुलेको छ । बुटवलको सेमलारका प्रकाश कुँवर र सिर्जना कुँवर, गुल्मीको चारपालाका वीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझीको पनि पहिचान खुलेको प्रहरीले जनाएको छ ।

हराएका यात्रुका आफन्तहरू सम्पर्कमा आउने क्रम जारी रहेको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ । प्रहरीका अनुसार अहिलेसम्म ट्राफिक चौकबाट २ वटा समूहका गरी ७ जनाले टिकट काटेकोबाहेक टिकट काउन्टरमा रेकर्ड देखिएको छैन ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अनुसार शुक्रवार बिहान उक्त गाडी काठमाडौं जानका लागि बुटवलको ट्राफिक चौक रोकिएको थियो । त्यहाँको काउन्टरबाट ७ जना र राजमार्ग चौराहाबाट टिकटसहित ३ जना चढेका थिए । यात्रुहरूले नाम नलेखाइ समूहमा चढेका कारण टिकट काउन्टरबाट चलानी सिटमा ४ जनाको मात्रै नाम उल्लेख गरिएको प्रहरीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्