काठमाडौं, १३ असोज । विगत दुई दिनदेखि परेको अविरल वर्षका कारण देशभरको जनजीवन कष्टकर बन्यो । बाढी, पहिरोसहित मानवीय क्षति भयो । काठमाडौंमा भएको नदी अतिक्रमणका कारण खोला बस्तीमा पस्यो । लामो समयको पर्खाइमा पनि राजधानीमै विपदमा परेकाहरुको उद्धार गर्न सकिएन । काठमाडौं उपत्यकाभित्र नै उद्दारको पर्खाइमा ४८ जनाले ज्यान गुमाउनुपर्यो । देशको राजधानीमा समेत नागरिकको उद्धार गर्न नसक्नु आफैंमा लज्जास्पद थियो ।
यसैक्रममा ललितपुरको नख्खु खोलामा आएको बाढीले बगाएका चारजना बगायो । उनीहरु धेरै जस्ताले बेरिएको टहरामा बसेका थिए । उनीहरुले थाहा पाउँदा वरिपरी बाढीले घेरेर त्यहाँबाट उम्किने उपाय नै थिएन । अन्ततः उनीहरु त्यो टहराको छतमा चढेर गुहार मागे । लामो समय टहराको छतमा बसेर गुहार मागे पनि उनीहरुलाई बचाउन राज्यको संयन्त्रले तदारुकता देखाएन ।
बाढीले टहरा बगायो । अन्ततः गुहार माग्दामाग्दै बगे चार जना । गृहमन्त्री रमेश लेखकले उनीहरुलाई बचाउन नसकिएको भनी दुःख व्यक्त गरे । तर, बाढीले बगाएका चार जनामध्ये दुई जनालाई स्थानीयहरुले उद्दार गरिसकेका थिए । स्थानीयले उद्दार गरेर थप उपचारको लागि पाटन अस्पताल पुर्याएको समेत गृहमन्त्री लेखकले जानकारी पाएनन् । उनले बाढीले बगाएका चारै जनालाई बचाउन नसकिएको घोषणा गरे ।
नक्खु खोला किनारमा ग्रिल कारखाना र कवाड सामान राख्ने टहरोमा बस्दै आएका रौतहटका राजु साह, उनकी छ वर्षीय छोरी मेघना साह, राजुका भाइ राज साह र राजकी चार वर्षीय छोरी सेर्तु साहलाई खोलाले बगाएको थियो । तीन जनालाई सकुशल उद्धार गर्न सकिए पनि राजकी चार वर्षीय छोरी सेर्तु अझै बेपत्ता छिन् । अविरल वर्षाका कारण उर्र्लिएको भेलमा हाम फालेर उनीहरुको ज्यान बचाउने पात्र हुन् चणिकलाल तामाङ । प्रस्तुत छ उनीहरुसँग पत्रकार ऋषि धमलाले गरेको संवादको सम्पादित अंश ।
विहान खोला बढ्यो भनेर म बाहिर निस्किएको थिए । म त्यहाँ हेरेर बसिरहेको थिएँ । माथिबाट मान्छे बगाएर ल्याएछ । मान्छे बगेर आएको देखेर म बाढीमा हामफालेँ । मानवताको हिसाबले त गर्नुपर्यो । मेरो घर काभ्रेको तिमाल हो । म पहिलादेखि नै पौडी खेल्थेँ । बानी थियो । मान्छे बगेर आएपछि मलाई पानीमा हाम फाल्न डर लागेन । मलाई उद्धार गर्न जुरेको रहेछ । पहिला मैले एक जना देखेको हो ।
उसले नानी च्यापेर बग्दै आएको रहेछ । अहिले अस्पताल भएको नानी उसले च्यापिरहेको रहेछ । उसले एउटा हात उठाएको देखेपछि मैले सिधै हाम फालेर तानेर ल्याए । त्यो नानी बेहोस थियो । नानीलाई पेटमा थिचेर मुखबाट पानी निकाल्यौं । हिलोसहित निस्कियो । उसलाई बोकेर आउने काका रहेछ । त्यसपछि त्यो नानीले आफ्नो बाबा खोज्यो ।
म काठमाडौं बसेको त धेरै भएको छैन । पाँच वर्षजति भयो । म गाउँमै बस्थेँ । मेरो गाउँ सुनकोशी छेउमा थियो । काठमाडौं आएर चाहीँ रङ लगाउने काम गरेर बसिरहेको थिएँ । सरकारले भन्यो भने विपद व्यवस्थापनमा मिलेर काम गर्छु ।
यो पनि पढ्नुहोस्ः ललितपुरको नख्खु खोलाले बगाएका तीन जनाको उद्धार, एक अझै बेपत्ता