Logo

नख्खु खोलाले बगाएका दुई जना बचाउने चणिकलाललाई प्रचण्डले गरे सम्मान (भिडिओसहित)



काठमाडौं, १३ असोज । नख्खु खोलाले बगाएका दुई जनालाई बचाएका चणिकलाल तामाङलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्मान गरेका छन् । आज (आइतबार) प्रचण्डले उनलाई स्वागत गरेका हुन् । अविरल वर्षाका कारण नख्खु खोलामा बाढी आएको थियो ।

नक्खु खोला किनारमा ग्रिल कारखाना र कवाड सामान राख्ने टहरोमा बस्दै आएका रौतहटका राजु साह, उनकी छ वर्षीय छोरी मेघना साह, राजुका भाइ राज साह र राजकी चार वर्षीय छोरी सेर्तु साहलाई खोलाले बगाएको थियो । नख्खु खोलाले बगाएका चारमध्ये २ जनालाई चणिकलालले पौडिएर बचाएका थिए । एक जना भने आफैं निस्किन सफल भए । तीन जनालाई सकुशल उद्धार गर्न सकिए पनि राजकी चार वर्षीय छोरी सेर्तु अझै बेपत्ता छिन् ।

प्रचण्डले चणिकलाल सहिद परिवारको सदस्य रहेको खुलासासमेत गरेका छन् । उनले चणिकलालको सम्मान गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।


‘हार्दिक बधाई क. चणिकलाल तामाङ । तपाईंले नख्खु खोला बहावबाट दुई जनाको ज्यान मात्र बचाउनु भएको छैन, मानवीयता पनि बचाउनु भएको छ। आफ्नो जीवनको प्रवाह नगरी अरुको जीवन बचाउने जोखिम उठाउनु भएको छ। सरकार उदासीन भएको ठाउँमा पनि जिम्मेवार नागरिकले आफ्नो कर्तव्य पूरा गर्न सक्छन् भन्ने उदाहरण पेश गर्नु भएको छ।’ प्रचण्डले भनेका छन्, ‘जनयुद्धमा सहोदर दाजु कमरेड चन्द्र लामालाई गुमाउनु भएका चुणिकलाल तामाङले देश र जनताको लागि आफूलाई समर्पण गर्ने सहिदको भावनाबाट प्रेरित हुदै साहसी युवाको रुपमा परिचित गराउनु भएको छ। तपाईंको आगामी जीवन सामाजिक क्षेत्रमा अझ योगदान गर्न सफल होस भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।’



प्रतिक्रिया दिनुहोस्