Logo

मौसमबारे जानकारी हुँदा पनि सरकारले पूर्वतयारी गरेनः माओवादी उपमहासचिव बस्नेत



काठमाडौं, १३ असोज । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले मौसमबारे पूर्व जानकारी हुँदा पनि सरकारले सम्भावित विपत्तिको बारेमा पूर्व तयारी गर्न चुकेको टिप्पणी गरेका छन् । आज (आइतबार) कार्यवहाक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले जल तथा मौसम विज्ञान विभागले अत्यन्त राम्रो पूर्वानुमान गरे पनि सरकारले पूर्व तयारीसँग सम्बन्धित कामहरु तदारुकताका साथ गर्न नसकेको बताएका हुन् ।

‘यो पटक जल तथा मौसम विज्ञान विभागले अत्यन्त राम्रो पूर्वानुमान गरिदिएको थियो । लगातार तीन दिन भारी वर्ष हुने पूर्वानुमानको आधारमा सूचनाहरु पनि जारी भइने राखेका थिए । जल तथा मौसम विज्ञान विभागले जारी गरेको पूर्वानुमानका आधारमा सरकारले पूर्व सूचना त जारी गर्यो । तर, त्यो पूर्व सूचनाको आधारमा गर्नुपर्ने पूर्व तयारीसँग सम्बन्धित कामहरु तदारुकताका साथ गर्नमा कमी भयो । हामीले सरकारसँग यो कुरा पनि राखेका छौं,’– उनले भने ।

साथै, विपदपछि खोज र उद्धारको कार्यमा सरकारले तदारुकता देखाउन नसकेको उनको टिप्पणी छ । यस्तो विपदको बेलामा सरकारले सबै राजनीतिक दल, नागरिक समाज र सरोकारवालाहरु सँग समन्वय गर्न आवश्यक रहेको उनले बताए । ‘सरकारले अलिबढी तदारुकता देखाउनुपर्यो, अलि बढी जिम्मेवारी पनि लिनुपर्यो र सबै तहका सरकारहरुको बीचमा उपयुक्त समन्वय गर्नुपर्यो,’– उनले भने ।

विपद्को बेला पक्ष, प्रतिपक्ष नभएर चुनौति सामना गर्नका लागि लाग्ने आफूहरुलेप्रतिवद्धता व्यक्त गरेको पनि उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्