Logo

भावी प्रधानन्यायाधीश राउतविरुद्ध संसदीय समितिमा उजुरीको चाँङ



काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ। समितिको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा नेपालको प्रधान न्यायाधीश र प्रस्तावित राजदूतहरुका सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरू खोली वितरण र छलफल गर्ने कार्यसूची छ। बैठकमा प्रधान न्यायाधीश र प्रस्तावित राजदूतहरुले पेश गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गरिने छ।

समिति सचिवालयका अनुसार सर्वोच्च अदालतका प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अगाडी बढाउन संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम आज कार्यतालिका तयार गरिनेछ।

साथै सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रारम्भ गर्ने पनि समितिले सूचनामा उल्लेख गरेको छ। संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्याधिशमा प्रकाशमान सिंह राउतलाई नियुक्त गर्न सिफारिस गरेको छ। भदौ ३१ गते साँझ बसेको परिषद्को बैठकले राउतको नाम सिफारिस गरेको हो।

सरकारले परराष्ट्र सचिव सेवा लम्साललाई बेल्जियम र अस्ट्रेलियाका लागि चित्रलेखा यादवलाई राजदूतमा सिफारिस गरेको छ। यसैबीच प्रस्तावित प्रधान्यायाधीश राउत विरुद्ध सो अवधिमा ६ वटा उजुरी परेको समिति स्रोतले जनाएको छ । दुई वटा अन्य उजुरी राजदूतमा सिफारिस यादवविरुद्ध परेको छ ।

असोज ३ गते बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधिशमा सिफारिस राउतसँगै अस्ट्रेलिया र बेल्जियमका लागि राजदूत सिफारिस यादव र लम्सालविरुद्ध उजुरी आह्वान गरेको थियो। उजुरी आह्वानको समय हिजो सकिएपछि समितिले आज प्राप्त उजुरी खोल्न लागेको हो।

त्यस्तै गत शुक्रबार न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालत पाटनका मूख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मूख्य न्यायाधीश नित्यान्द पाण्डेलाई सिफारिस गरेको थियो । संसदीय समितिको बैठकले आज पाण्डे र निरौलाको सुनुवाइ सुरु गर्दै उजुरी आह्वान गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्