काठमाडौं । प्रहरी प्रधान कार्यालयले धादिङ जिल्लाका एसपी गौतम केसीलाई हेडक्वाटर तानेको छ । केसीको सट्टा दीपेन्द्र शाहीलाई धादिङ प्रहरी प्रमुख बनाएर पठाइएको छ ।
बाढी पहिरोको विपत्तिको जोखिमको बेला काम सन्तोजनक नभएको भन्दै प्रहरी हेडक्वाटरले धादिङका प्रहरी प्रमुख हेरफेर गरेको हो ।
यसअघि आजै गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई पनि मन्त्रालयमा तानेको थियो । धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाई आज मन्त्रालयमा तानिएका थिए ।
मन्त्रालयले धादिङमा पाण्डेको ठाउँमा सुमन घिमिरे र काभ्रेमा सेडाईको ठाउँमा उमेश ढकाललाई पठाएको छ । प्रवक्ता तिवारीले दुवै प्रमुख जिल्ला अधिकारीको नियमित सरुवा भएको दाबी गरेका छन् । असोज १० गतेदेखि परेको अविरल वर्षापछि काभ्रे र धादिङमा पनि जनधनको क्षति भएको थियो ।
मनसुन सक्रिय भएसँगै जोखिमको पूर्वसूचना हुँदाहुँदै सवारी साधन सन्चालनमा प्रशासनले रोक नलगाउँदा धेरै क्षति भएको गृहमन्त्रालयको निष्कर्ष छ ।
नेपाल प्रहरीका अनुसार आइतबार साँझसम्म नौबिसे-नागढुंगा सडक खण्डको झ्याप्ले खोलानेर पहिरोले सवारी साधनसहित पुर्दा ३५ जनाको मृत्यु भइसकेको छ । काभ्रेमा ५० जनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्यांक छ ।