Logo

नख्खु खोलाले बगाएका दुई जना बचाएका चणिकलाललाई बागमती सरकारले नगद पुरस्कारसहित सम्मान गर्ने



काठमाडौं, १४ असोज । बागमती प्रदेश सरकारले ललितपुरको नख्खु खोलामा आएको बाढीले बगाएका चार जनामध्ये दुई जनाको उद्दार गरेको चणिकलाल तामाङलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । उनलाई डेढ लाख नगदसहित प्रदेश सरकारले सम्मान गर्न लागेको हो ।

अविरल वर्षाका कारण उनीहरु धेरै जस्ताले बेरिएको टहरामा बसेका थिए । उनीहरुले थाहा पाउँदा वरिपरी बाढीले घेरेर त्यहाँबाट उम्किने उपाय नै थिएन । अन्ततः उनीहरु त्यो टहराको छतमा चढेर गुहार मागे । लामो समय टहराको छतमा बसेर गुहार मागे पनि उनीहरुलाई बचाउन राज्यको संयन्त्रले तदारुकता देखाएन ।

नक्खु खोला किनारमा ग्रिल कारखाना र कवाड सामान राख्ने टहरोमा बस्दै आएका रौतहटका राजु साह, उनकी छ वर्षीय छोरी मेघना साह, राजुका भाइ राज साह र राजकी चार वर्षीय छोरी सेर्तु साहलाई खोलाले बगाएको थियो ।

काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका तामाङले दुई जनालाई उद्धार गरी बचाएका थिए । भने एक जना आफैं पौडिएर निस्कन सफल भए । राजकी चार वर्षीय छोरी सेर्तु अझै पनि बेपत्ता छिन् ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकलाललाई फोनमार्फत धन्यवाद व्यक्त गर्दै प्रदेश सरकारले नगद पुरस्कारसहित सम्मान गर्न लागेको जानकारी गराएका हुन् । चणिकलालले सामान्य मजदुरी (रङ लगाउने काम) गरेर जीविकोपार्जन गर्दै आएका थिए ।



प्रतिक्रिया दिनुहोस्