Logo

रोशी आसपासमा अवैध रुपमा खुलेका क्रसरका कारण विपी राजमार्गमा ठूलो क्षति भयोः माओवादी नेता दाहाल (भिडिओसहित)



काठमाडौं, १४ असोज । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले रोशी खोला आसपासमा अवैध रुपमा सञ्चालित क्रसरका कारण तीन दिनको अविरल वर्षमा ठूलो क्षति भएको बताएका छन् । उनले तीन दिनसम्मको अविरल वर्षाका कारण सिन्धुलीमा प्राकृतिक विपत्ति यति अकल्पनीय रहेको बताए ।

सुनकोशी गाउँपालिकाको मुलकोट, गोलन्जोरको खुरकोट अहिले मरुभूमि बनेको उनले बताए । ‘मुख्यतः रोशी र कोशीले यहाँ बितण्ड मच्चाएको छ । खानेपानी, विजुली, विद्यालय भवनहरु र घरहरु भत्किएका छन् । कोशी किनाराका सबै बस्तीहरु अहिले बालुवाले भरिएका छन् ।’ नेता दाहालले भने, ‘रोशी खोलामा अनियन्त्रित ढंगले चलेका क्रसरहरु, क्रसरले फालेका ड्रस्ट सबै रोशीको किनारमा राखेका थिए । रोशीको किनारमा राखेका ड्रस्टहरु बगाउँदा नेपालथोक, आँपघारी, मुलकोट हुँदै खुर्कोटसम्म बस्तीहरु कटान गर्न, बगाउन र पुर्नका निमित्त त्यो ड्रस्टले पनि काम गरेको देखिन्छ ।’

उक्त क्षेत्रमा नेपाल सरकारको मापदण्डविपरीत खोलीका क्रसरहरु बन्द गर्न आफूले पटक–पटक उजुरी दिँदा नियमन नभएको उनको आरोप छ । रोशी खोलाले बगाएको ड्रस्टले ठूलो क्षति गराएको नेता दाहालले बताए ।

साथै, बाढीमा सिन्धुलीका दुई जनाले ज्यान गुमाउनुपरेको उनले बताए । बाढीको कारण सिन्धुलीमा अर्बौंको क्षती भएको उनले बताए । विपी राजमार्गमा अहिले पनि हजारौं यात्रुहरु अलपत्र अवस्थामा रहेको नेता दाहालले बताए । नेता दाहालका अनुसार यस्तो अवस्थामा पनि सरकारको उपस्थिति देखिइएको छैन । सरकारले एउटा सेनाको हेलिकोप्टर लगेर दिनमा २०/२५ जनाको मात्रै उद्धार गरिरहेको उनले सुनाए ।

‘प्रकृतिले बितण्ड मच्चाएको चार दिन भइसहेको छ । चार दिनसम्म पनि जसरी उद्दार, पुनर्स्थापना, राहत र पुनर्निर्माणको कार्य तीब्र रुपमा सुरुवात गर्नुपर्थ्यो, सञ्चालन गर्नुपर्थ्यो । यो मामलामा सरकारको उदासिनताप्रति म खेद व्यक्त गर्न चाहन्छु,’– उनले भने ।

आफू पनि फिल्डमा खटेर सडक सुचारु गर्ने अनेक प्रयत्न गरेपनि सम्भावना नै नदेखिएको उनले बताए । अहिले आफू सुनकोशीमा रहेको बताउँदै उनले खाने कुरासमेत खान नपाएर बाटोमा अलपत्र परेर बसेका यात्रुहरुलाई तत्काल उद्दार गर्न उनले सरकारसँग माग गरे । नेपालथोक देखि भाकुण्डेबेसीसम्म झण्डै तीन हजार जना यात्रुहरु अलपत्र अवस्थामा रहेको उनले सुनाए ।

विपी राजमार्ग तत्काल सञ्चालन हुनसक्ने अवस्था नै नरहेको उनले बताए । तीब्र रुपमा काम गर्दा पनि उक्त राजमार्ग सञ्चालन गर्न झण्डै १५/२० दिन लाग्नसक्ने नेता दाहालको आँकलन छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्