Logo

नेशनल प्याब्सन काठमाडौंंद्वारा उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता आयोजना



काठमाडौं, १६ भदौ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल काठमाडौंले उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता आयोजना गरेको छ । विभिन्न जातजाति भाषा, धर्म, संस्कृति र रीतिरिवाजसँग सम्बन्धित मौलिक संस्कृतिको संवर्द्धन गर्ने उद्देश्यले आगामी भदौ १८ गते उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता–२०८१, छैटौं संस्करण आयोजना गरिएको बताइएको छ । प्रतियोगिता नेपाल प्रज्ञा भवन, कमलादीमा हुनेछ ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराइएको हो । लोकनृत्य प्रतियोगितामा प्रत्येक विद्यालयले कार्यक्रम सहयोग शुल्क पाँच हजार तिरेर ७५ वटा विद्यालयले भाग लिएका छन् । विद्यालयहरुले प्रतियोगितामा कक्षा ३ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई राखी कम्तिमा ८ देखि २४ जनाको समूह बनाई बढीमा ५ मिनेटभित्र आफ्नो नृत्य प्रस्तुत गर्न सक्ने बताइएको छ ।

हरेक प्रतियोगीहरुलार्ए आफ्नो परिचयपत्रसहित उपस्थितिका लागि भनिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई क्रमशः २५ हजार, २० हजार र १५ हजारका दरले नगद पुरस्कारको साथै प्रमाणपत्र र ट्रफी प्रदान गरी पुरस्कृत गरिने बताइएको छ । चौथोदेखि दसौं स्थानसम्मका विजेता प्रतियोगीहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताइएको छ । सर्वोत्कृष्ट भेषभुषा, सर्वोत्कृष्ट नृत्य निर्देशकलाई पनि प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ । प्रतियोगिता सहभागी विद्यालय र सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिनेछ ।

नृत्य प्रतियोगिताको निर्णायक मण्डलमा पाँच जना लोक, संस्कृति, कला साथै नृत्य विशेषज्ञहरु रहने र नृत्यको स्तर, सिर्जना, मौलिकता, चाल, ताल, प्रस्तुति, भेषभुषा, श्रृङ्गारमा एकरुपता, अनुशासन साथै नृत्य समयभित्र प्रस्तुत गरिएका सम्पूर्ण हाउभाउका आधारमा निर्णायकहरुले निर्णय गर्ने बताइएको छ ।

नेशनल प्याब्सन काठमाडौंंका अध्यक्ष अमृतकुमार खड्काले सो कार्यक्रममा निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरुले कक्षा कोठामा पाठ्यपुस्तकमात्रै पढाउने कामहरु भन्दा एक तहमाथि उठेर नेपालको लोक संस्कृतिको संरक्षण र संवर्धन गर्ने उद्देश्य राखेर कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रमको सबै तयारी पूरा भइसकेको पनि उनले बताए । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित हुने बताइएको छ । सो कार्यक्रममा वरिष्ठ नृत्य शिरोमणि भैरवबहादुर थापालाई सम्मान गरिने पनि अध्यक्ष खड्काले बताए ।



प्रतिक्रिया दिनुहोस्