काठमाडौं, १७ भदौ । नेकपा (एमाले) ले गण्डकी प्रदेश सरकारमा सहभागी हुने ४ जना मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । एमालेले पद्मा जिसी, कृष्ण पाठक, प्रकाश केसी र मित्रलाल बस्याललाई मन्त्री बनाउन लागेको हो ।
गण्डकी सरकारको मन्त्री बन्न लागेकी जिसी नवलपुरकी हुन्, भने पाठक बागलुङका हुन् । त्यस्तै, केसी र बस्याल क्रमशः कास्की र पर्वतका हुन् । उनीहरुले आज नै पद तथा गोपनीयताको शपथ लिने बताइएको छ ।
गण्डकीमा मन्त्रालयको भागबण्डा नमिल्दा एमाले सरकारमा गएको थिएन । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीको चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङलाई मन्त्रीबाट नहटाएकोमा एमालेको असन्तुष्टि रहेको थियो ।
देवकोटा र गुरुङलाई कांग्रेसकै कोटाबाट मन्त्री बनाइराख्ने सहमति भएसँगै एमाले सरकारमा सहभागी भएको हो ।