Logo

कांग्रेस सह-महामन्त्रीको प्रश्नः गगन-विश्वप्रकाशमात्रै छन् र पार्टीमा उनीहरुले भनेअनुसार चल्नुपर्ने ? (भिडिओसहित)



काठमाडौं, १७ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौरले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले भनेको जसरी पार्टी नचल्ने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भाषण गर्न जान्नेमात्रै ठीक भनेर मूल्याङ्कन गर्न नहुने बताएका हुन् ।

कांग्रेसमा संगठन गरेर आफू अहिलेको अवस्थामा आइपुगेको बताउँदै उनले पार्टीमा सबै प्रकारको मान्छे चाहिने बताए । ‘कांग्रेसमा गगन थापा र विश्वप्रकाश शर्मामात्रै छन् ? हामी चाहीँ के हो त ? पार्टी एकथरी मान्छेले मात्रै चल्दैन । पार्टीमा राम्रो बोल्ने मान्छे पनि चाहिन्छ, राम्रो लेख्ने मान्छे पनि चाहिन्छ । संगठन गर्ने मान्छे पनि चाहिन्छ, आवश्यक पर्यो भने पैसा खर्च गर्ने मान्छे पनि चाहिन्छ, कार्यकर्ताको संरक्षण गर्ने मान्छे पनि चाहिन्छ । हामी संगठन गरेर आएको हो । सबैको आ–आफ्नो भूमिका हुन्छ । जसले राम्रो भाषण गर्यो, उ मात्रै ठीक भन्ने हुन्छ ?’ उनले प्रश्न गरे ।

पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरकारमा रहँदा आफू र आफ्नो कार्यकर्ता, नातागोताको मात्रै संरक्षण गरेको उनको आरोप छ । त्यस्तै, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि कृष्णबहादुर महरा र माओवादीका कार्यकर्ताको संरक्षण गर्नेबाहेक हरु काम नगरेको टिप्पणी गरे । सह–महामन्त्री राठौरले अब प्रचण्ड र लामिछानेको कुरा गर्न आवश्यक नरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्