Logo

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, मनाङ्गे र देवकोटालाई बोक्दा कांग्रेसलाई दुई वटा मन्त्री घाटा



काठमाडौं, १७ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । आज (सोमबार) नेकपा (एमाले) बाट ४ जना मन्त्रीहरु नियुक्त गर्दै उनले प्रदेश सरकारलाई पूर्णता दिएका हुन् । गण्डकीमा यसअघि ७ मन्त्रालय रहेकोमा मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाएर ९ पुर्याएका छन् । सत्तारुढ दल नेपाली कांग्रेस र एमालेबीच भागबण्डा मिलाउन उनले मन्त्रालय फुटाएका थिए ।

एमाले पद्मा जिसीको संयोजकत्वमा गण्डकी सरकारमा सहभागी भएको छ । जिसीले जिसी कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेकिछन् । त्यसैगरी, एमालेले कृष्ण पाठकलाई स्वास्थ्य, मित्रलाल बस्याललाई उद्योग तथा पर्यटन र प्रकाशबहादुर केसी भौतिक पूर्वाधार विकासमन्त्री बनाएको छ ।

नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्हबाट निर्वाचित भएका नेपाल समाजवादीका नेता फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद् राजीव गुरुङको मन्त्री पद पनि कायमै रहेको छ । उनीहरुलाई कांग्रेसले पाउने कोटाबाट मुख्यमन्त्री पाण्डेले मन्त्री बनाएका हुन् । गुरुङ र देवकोटाको विषयलाई लिएर एमालेले सरकारमा सहभागी हुन असन्तुष्टि जनाइरहेको थियो । अन्ततः सिट संख्याको आधारमा भागमा पर्ने मन्त्री दिन कांग्रेस सहमत भएसँगै एमाले सरकारमा सहभागी भएको हो ।

मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकार जोगाइदिएका देवकोटा र गुरुङलाई मन्त्री बनाइराख्नुपर्ने बाध्यताले कांग्रेसले २ वटा मन्त्री गुमाएको छ । यद्यपि अहिले कांग्रेस–एमाले मिल्दा प्रष्ट बहुमत छ ।



प्रतिक्रिया दिनुहोस्