Logo

आईजीपीको जिब्रो थुत्ने अभिव्यक्तिसँगै सञ्चारमन्त्री गुरुङ विवादमा, बर्खास्त गर्नुपर्ने कांग्रेस नेता भण्डारीको माग



काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बर्खास्त गर्न माग गरेका छन् । नेता भण्डारीले मन्त्री गुरुङले सार्वजनिक स्थलमा प्रहरी संगठनका प्रमुखलाई अपशब्द प्रयोग गरी अभिव्यक्ति दिएको भन्दै उनको बर्खास्तीको माग गरेका हुन् ।

‘देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनका प्रमुखलाई नेपाल सरकारका प्रवक्ता तथा सुचना तथा संचार मन्त्रीबाट सार्वजनिक स्थलमा अपशब्द व्यक्त भएकोमा मैले त्यसको घोर भर्त्सना गर्दै प्रधानमन्त्रीले संचार मन्त्रीलाई बर्खास्त गर्न आव्हन गर्दछु,’– नेता भण्डारीले विज्ञप्तिमार्फत भनेका छन् ।

साथै, नेता भण्डारीले शान्ति सुरक्षामा भविष्यमा कुनै तलमाथि हुन आएमा त्यसको जिम्मेवार स्वयं सरकार र प्रधानमन्त्री हुनुपर्ने पनि उनले बताएका छन् । सरकारमा भएका वा जिम्मेवार व्यक्तिले सत्य तथ्य बङ्गाएर समाजमा वितृष्णा फैलाउने र पार्टी–पार्टीबीचको सम्बन्ध बिगार्ने कार्य नगर्न उनले अनुरोध गरेका छन् ।

मन्त्री गुरुङले केही दिनअघि पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ भन्ने अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिलाई लिएर अहिले सर्वत्र आलोचना भइरहेको छ । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले बोलेका कुरा सरकारको धारणा हुने भन्दै धेरैले आलोचना गरिरहेका छन् ।

‘प्रहरीको आईजीपीले के भन्यो ? म कानुन लागू गर्दिन, हुँ गर्छ । त्यस्तो बोल्न पाउने कि नपाउने ? त्यसको जिब्रो थुत्नुपर्थ्यो, मैले भन्दाखेरी,’– उनले भनेका थिए ।



प्रतिक्रिया दिनुहोस्