Logo

मुख्यसचिवकी कर्मचारी श्रीमती बनिन् एनजीओको अध्यक्ष



काठमाडौं, १८ भदौ । सुशासनको नारा जपेर मुख्यसचिव बनेका एकनारायण अर्यालले श्रीमतीलाई एनजीओको अध्यक्ष बनाएका छन्। हनुमान ढोका दरबार संग्रहालय विकास समितिअन्तर्गत कार्यरत उनकी श्रीमती मायादेवी अर्याल एनजीओको अध्यक्ष बनेकी हुन्।

निजामती कर्मचारी श्रीमती संघको अध्यक्ष मुख्यसचिवको श्रीमती हुने व्यवस्था छ। तर, मुख्यसचिव अर्यालकी श्रीमती सरकारी कर्मचारी भएकाले उक्त पदमा बस्न नमिल्ने उच्च सरकारी अधिकारीहरू बताउँछन्।

निजामती कर्मचारी श्रीमती संघ नामक एनजीओको अध्यक्ष बनेकी मुख्यसचिव अर्यालकी श्रीमती मायादेवी विविध समूहतिरकी संग्रहालय अधिकृत हुन्। उनी हनुमानढोका दरबार संग्रहालय विकास समितिकी सूचना अधिकारी समेत रहेको उक्त संग्रहालयको वेबसाइटमा उल्लेख छ।

सरकारी कर्मचारी एनजिओको अध्यक्ष बन्नुलाई कतिपय सरकारी अधिकारीले अशोभनीय भनेका छन्। अर्यालले मुख्यसचिव पद बहाली गरेसँगै सरकारी कर्मचारी समेत रहेकी उनकी श्रीमती मायादेवीले पनि निजामती कर्मचारी श्रीमती संघको अध्यक्षमा पद बहाली गरेकी छिन्।

उक्त विषयलाई लिएर कर्मचारी वृत्तमा आलोचना सुरु भएको छ । कतिपय सरकारी अधिकारीले त सुशासन यहीबाट सुरु भइसकेको टिप्पणी गरेका छन्। यो जतिको लाजमर्दो दृश्य अर्को हुन नसक्ने ती कर्मचारीको टिप्पणी छ।



प्रतिक्रिया दिनुहोस्