Logo

प्रधानमन्त्री ओलीलाई माओवादी नेताको प्रश्नः झापा विद्रोहको नाममा धर्म ढकाललगायतको हत्या विर्सनुभयो ?



काठमाडौं, १८ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले माओवादी सशस्त्र संघर्षलाई एमालेका नेताहरुले हिंसाको संज्ञा दिएको प्रति आपत्ति जनाएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले २००७ सालमा कांग्रेसले गरेको सशस्त्र क्रान्ति, झापा विद्रोह लगायतको प्रसंग उठान गरे । उनले ती विद्रोह र क्रान्तिहरु हिंसा थियो ? भन्दै प्रश्न गरे ।

साथै, झापा विद्रोहको नाममा भुटन चौधरी, धर्म ढकाल, कर्णबहादुर गौतमलगायतको हत्या भएको कुरा विर्सिनुभयो ? भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ प्रश्न तेर्स्याए । उनले प्रधानमन्त्री ओली सोही हत्या अभियोगमा १४ वर्ष जेल बसेको समेत दाबी गरे ।

‘२००७ सालमा नेपाली कांग्रेसले गरेको सशस्त्र क्रान्ति, २०३० साल जेठ २८ गते नेपाली कांग्रेसका नेताहरुले जाहज अपहरण गरी जहाजमा रहेको पैसा क्याप्चर गरेको तपाईँहरुलाई थाहा नै होला । के उक्त रकम नेपाली जनताको थिएन र ? के उक्त काम पनि हिंसा थियो ? त्यतिखेर झापा विद्रोहको नाममा भुटन चौधरी, धर्म ढकाल, कर्णबहादुर गौतमलगायतको हत्या बिर्सनुभयो कि ? जबकी उहाँको हालको अध्यक्षले १४ वर्ष कैद भुक्तान गरेको के हो ? यसलाई लुटपाट र हत्या भन्ने होला नि ?’ प्रश्न गर्दै उनले भने, ‘त्यतिखेर झापा विद्रोह या आनदोलनको बेलामा उहाँहरुको अध्यक्षले ‘सामन्तीलाई नगिँडे, सैनिकसँग नभिडे आउँदेन जनवाद’ भन्दै, गाउँदै चलाएको झापा विद्रोह हिंसा र लुटपाट थिएन र ?’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्