Logo

बालेनविरुद्ध उपमेयर डङ्गोल आक्रोशित, बागमती संरक्षण सम्बन्धी सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकन जानुपर्ने अडान



काठमाडौं, १८ भदौ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले बागमती नदी संरक्षण सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पूर्णपाठ प्रकाशन गरेसँगै बालेन्द्र शाहले जनतालाई आतङ्कित बनाएको टिप्पणी गरेकी छन् । आज (मंगलबार) ३५औं नगर कार्यपालिकाको बैठकलाई सम्बोधन गर्दै उनले महानगर प्रमुख शाहले गरेको एकलौटी निर्णयले जनता आतङ्कित र त्रसित भएको बताएकी हुन् ।

सर्वोच्चले बागमती नदी संरक्षण सम्बन्धी मुद्दाको पूर्णपाठ सार्वजनिक गरेसँगै मेयर शाहले मेयरस्तरीय निर्णयमार्फत बागती, विष्णुमती नदी आसपासका क्षेत्रमा ४० मिटर र टुकुचाको २० मिटर वरपर निर्माण निषेध गरेको सूचना सार्वजनिक गरेका थिए । मेयरस्तरीय उक्त निर्णयप्रति विरोध जनाईन् । उनले बोर्डस्तरीय बैठक नबसी त्यस्तो संवेदनशील विषयमा सूचना प्रकाशन गरिएको बताईन् । उक्त निर्णयलाई महानगरपालिकाको निर्णय भन्ने कि नभन्ने प्रश्न उब्जिएको उनले धारणा राखिन् । यस्ता संवेदनशील विषयको निर्णय हुँदा बोर्ड बैठकमार्फत हुनुपर्ने उनको भनाइ छ ।

सोही निर्णयको विरोधमा केही दिनअघि केही जनताहरु महानगरको अफिसमा आएको र ठाउँ–ठाउँमा विरोधसमेत सुरु भइसकेको उनले बताईन् । उक्त निर्णयमा पुनर्विचार गरेर सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जानुपर्ने अवस्थासमेत आउनसक्ने उनले बताईन् ।

‘सम्मानित अदालतले गरेको आदेशलाई हामीले सम्मान गर्नुपर्छ, त्यो कुरामा दुई मत रहेन । तर, त्यो सम्मान गर्ने क्रममा, कार्यान्वयन गर्ने क्रममा कसरी कार्यान्वयन गर्छौं भन्ने कुरा एकदमै महत्वपूर्ण छ । अहिले भर्खरै प्रमुखज्यूले भनिसक्नुभएको छ, हामीले सुसुचीत गराउन खोजेका हौं भन्ने कुरा पनि आएको छ । यो सुसुचित गर्ने कुरामा त्यहाँ कसरी लेखिएको छ भन्ने कुरा पनि महत्वपूर्ण छ । एउटा शब्दलाई खेल्ने धेरै ठाउँहरु पनि हुन्छ । प्रमुखस्तरीय निर्णयअनुसार सूचना प्रकाशित गरिएको छ भनेर लेखिएको छ । प्रमुखस्तरीय निर्णयअनुसार सूचना प्रकाशित गरिएको छ भनिसकेपछि महानगरपालिकाको सम्पूर्ण, सबै जनाको त्यो निर्णय हो कि होईन भन्ने कुरा पनि आउँछ । वडा–वडामा अहिले धेरै जना आउन थालिसक्नु भएको छ, कार्यालयमा आउन थालिसक्नु भएको छ । यस्तो संवेदनशील कुरामा, यतिधेरै जनता र जन भावनासँग जोडिएको कुरामा हामीले बोर्ड बैठक बसेर छलफल नगरिकन मेयरस्तरीय निर्णय भनेर सूचना जाने अनि हामी सबै जना, महानगरपालिकाका जनप्रतिनिधिले पनि त्यो सूचनाबाट सुसुचित हुने त्यो राम्रो पद्धति कदापि हुँदैहोईन,’– उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्