Logo

माओवादी सशस्त्र संघर्षको बेला हतियार तस्करीको आरोप लागेपछि बोले योगेश, समिति बनाएर छानविन गरी प्रमाणित गर्न दिए चुनौति (भिडियोसहित)



काठमाडौं, १८ भदौ । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले आफूमाथि माओवादी सशस्त्र संघर्षको बेला हतियार तस्करीको आरोप लगाउनेहरुलाई समिति बनाएर छानविन गरी देखाउन चुनौति दिएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस विषयमा माओवादीले संसद्मा प्रस्ताव लगेर माओवादीकै नेतृत्वमा समिति बनाएर छानविन गर्दा हुने बताए । उनले छानविनको अवधिसम्म आफूले स्वत निलम्बनको घोषणा गर्ने पनि बताए ।

‘यस्ता बेतुकका कुरा गर्दै हिँड्नुको कुनै पनि अर्थ छैन । जसले भने ती मित्रलाई म के भन्न चाहन्छु भने, संसद्मा प्रस्ताव ल्याउनुस् । तपाईँकै संयोजकत्वमा एउटा समिति बनाऔं । एमाले बस्दैन, मेरो बारेमा तपाईँनै छानविन गर्नुस्, माओवादीले नै छानविन गरोस्, मैले हतियार तस्करी गरेँ की ? मैले के गरेँ की ? तपाईँ नै छानविन गर्नुस् । त्यो छानविन कति महिनामा टुङ्ग्याउनुहुन्छ ? त्यो अवधिमा म स्वत निलम्बनको घोषणा गर्छु । त्यो हिम्मत छ, त्यो इमान छ मसँग,’– उनले भने ।

नेता भट्टराईले संसद्मा माओवादी सशस्त्र संघर्षलाई हिंसा भनेपछि माओावादीका नेताहरुले उनलाई जनयुद्ध कालमा हतियार तस्करी गरेको र चन्दा आतङ्क मच्चाएको आरोप लगाएका थिए । उक्त आरोपलाई नेता भट्टराईले चुनौति दिएका छन् । उनले आफू तस्करी गरेर र जमिनमुनि सुन र पैसा गाडेर राजनीतिमा नआएको बताए । आज माओवादीमा हिजो गाडेको सुनको लडाईँ रहेको पनि उनले दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्