Logo

प्रदेश सरकारलाई संघको इकाईजस्तो बनाइयोः पूर्व मुख्यमन्त्री शर्मा (भिडियोसहित)



काठमाडौं, १९ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सरकारलाई संघले प्रदेश सरकारजस्तो हुनै नदिएको टिप्पणी गरेका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रदेश सरकारलाई संघको इकाईजस्तो मात्रै बनाइएको बताएका हुन् । ‘संघले प्रदेश सरकारलाई प्रदेश सरकारजस्तो हुन दिएकै छैन । यो त संघको एउटा इकाई हो भनेको जस्तो पो छ त,’– उनले भने ।

पूर्वमुख्यमन्त्री शर्माले कर्णालीका जनताको जीवनस्तर माथि उठाउन सस्तो ब्याजदरमा ऋण प्रदान गर्नेगरी लघुवित्तीय बैंक खोल्न खोज्दा संघले अनुमति नै नदिएको सुनाए । लघुवित्तीय बैंक खोल्नु प्रदेशको एकल अधिकारभित्र पर्ने भएपनि संघको स्वीकृति आवश्यक पर्ने उनले बताए । संघीय सरकारका कारण कर्णालीमा धेरै प्रकारका समस्याहरु जस्ताकोतस्तै रहेको उनले बताए ।

‘यहाँ लघुवित्तीय बैंक खोल्नुपर्यो र कर्णालीका जनताको जीवनस्तर माथि उठाउन सस्तो ब्याजमा ऋण प्रदान गर्न एउटा निर्णय गरियो । बजेट पनि छुट्याइयो । त्यो चाहीँ हाम्रो एकल अधिकारभित्र पनि पर्छ । संघको अनुमति दिएर गर्नुपर्ने, संघले त्यो अनुमति हामीलाई दिएन । मानौं यो बैंक डुब्छ । अहिलेसम्म जे–जस्ता समस्या आएका छन्, कर्णालीका जनताले बैंक डुबाएर समस्या भएको हो भनेजस्तो गरेर हामीलाई बैंकको अनुमति दिइएन,’– उनले भने ।

संघले जे आशिर्वाद दिन्छ, त्यही आशिर्वाद थाप्न कर्णाली बाध्य रहेको उनले सुनाए । आफ्नो कार्यकालमा सुरु भएका राम्रा कामहरुलाई वर्तमान प्रदेश सरकारले निरन्तरतामा नल्याएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्