Logo

सबै दलले आ-आफ्नो दममा चुनाव लड्ने हो भने ०८४ मा पनि कांग्रेस पहिलो हुन्छः सहमहामन्त्री यादव (भिडिओसहित)



काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र राय यादवले आगामी निर्वाचनमा सबै दलले आ–आफ्नो दममा चुनाव लड्नुपर्ने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले कांग्रेसको जनमत घटेकोजस्तो देखिएपनि परिस्थिति त्यस्तो नरहेको बताए । उनले अन्य दलसँग गठबन्धन गरेर चुनाव लड्नुपर्दाको परिस्थितिमा त्यस्तो अवस्था देखिएको बताए ।

सहमहामन्त्री यादवले अहिले पनि कांग्रेस स्थानीय तहदेखि संघसम्म नै ठूलो पार्टीको रुपमा रहेको र लोकप्रियता पनि नघटेको बताए । आगामी निर्वाचनमा पनि कांग्रेसबाहेक अरु कुनै पार्टी ठूलो पार्टी बन्न नसक्ने दाबी गरे ।

‘सबैले आगामी निर्वाचनमा आफ्नै दममा चुनाव लड्नुपर्छ । हामीले गठबन्धन गरेको कारणले जनमत घटेको जस्तो देखिन्छ । वास्तवमा हाम्रो जनमत घटेको छैन । हाम्रो लोकप्रियता पनि घटेको छैन । अहिले संसदमा पनि सबैभन्दा ठूलो कांग्रेस छ । प्रदेशमा पनि छ र स्थानीय निकायमा पनि छ । हामी गठबन्धन नगर्ने तर अरु पार्टीले गर्ने भएका कारणले हामीले गर्यो । सबै पार्टीहरुले आफ्नै दममा चुनाव लड्छ भने कांग्रेस पहिले नै देखि तयार छ,’– उनले भने ।

साथै, फरक प्रसंगमा उनले सहकारी ठगीमा संलग्न रहेकाहरुको सम्पत्ति बेचेर भएपनि सरकारले बचतकर्ताको बचत रकम फिर्ता गर्ने बताए । सहकारी ठगी छानविन गर्न बनेको संसदीय विशेष समितिमा कुनै आग्रह र पूर्वाग्रह नराखी छानविन हुने बताए ।



प्रतिक्रिया दिनुहोस्