Logo

प्रस्तावित राजदूत चौहानले सुनाए नेपाली उत्पादन रूसमा निर्यात गर्ने योजना



काठमाडौं, १९ भदौ । रूसका लागि प्रस्तावित राजदूत जङ्गबहादुर चौहानले संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् । आज (बुधबार) प्रस्तावित राजदूत चौहानले प्रथम उच्चस्तरीय राजकीय भ्रमण, द्धिपक्षीय व्यापार प्रवर्द्धन, आर्थिक सहयोग, पर्यटन प्रवर्धन, सम्बन्ध सबलीकरणको अवस्यकतालगायतका विषय समेटेर कार्ययोजना पेश गरेका छन् ।

त्यस्तै, उनले रूसलाई निर्यातको सम्भावित ठूलो बजारको रुपमा उल्लेख गरेका छन् । नेपाली उत्पादनहरु चिया, कफी, तयारी पोषाक, पस्मिना, ऊनी पोषाक, औषधि, जडिबुटी, नेपाली कागज, चाँदी र अन्य हस्तकला आदिका उत्पादनहरु रूसमा निर्यात गर्न सकिने उनको भनाइ छ ।

‘रूस निर्यातको एक सम्भावित ठूलो बजार हो । नेपाली उत्पादनहरु चिया, कफी, तयारी पोषाक, पस्मिना, ऊनी पोषाक, औषधि, जडिबुटी, नेपाली कागज, चाँदी र अन्य हस्तकला आदिका उत्पादनहरुको राम्रो बजार हुनसक्छ । अझ चिया र कफीको राम्रो भरपर्दो दीर्घकालीन बजार बनाउन सकिन्छ,’– उनले कार्ययोजनामा भनेका छन् ।

साथै, उनले रूसी सेनामा भर्ती भएका नेपाली युवाहरुको समस्या समाधान गर्न पनि संयोजनकारी भूमिका खेल्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् । ‘एउटा जटिल समस्याको रुपमा हेरिएको यो विषय सेनासँग सम्बन्धित भएकाले सबै कुरा प्रष्टसँग बाहिर आएको छैन । विचौलियाहरुको प्रलोभनमा परेर हाम्रा युवाहरु युद्धको भुमरीमा परेका छन् । यिनीहरुको उद्धारका लागि नेपालको परराष्ट्र मन्त्रालयले आवश्यक संवाद अघि बढाइरहेको सन्दर्भमा हर सम्भव प्रयास हुनु जरुरी छ । रूस र रूसी भाषा ज्ञानको कारण संयोजनकारी भूमिकामा रहेर काम गर्न सहज हुने ठान्दछु,’– उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्