काठमाडौं, १९ भदौ । शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले एक महिनासम्म चलेको पशुपति कोटीहोम महायज्ञमा आफूमाथि लागेको आर्थिक अपचलनको आरोपमा सत्यता नरहेको बताएका छन् ।
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूहरुले कुनै आर्थिक लेनदेनविना नै कोटी होममा स्वयंसेवकको रुपमा काम गरेको बताए । उनले अरुको उक्साहटमा लागेर केही युवाहरुले शाही युवा शक्ति नेपालको बदनाम गराउन खोजेको उनले बताए ।
‘कोटीहोम एक महिनासम्म चल्यो । शाही युवा शक्ति नेपाल सहयोगीको रुपमा अगाडि बढ्यो । केही साथीहरु लगभग २०/२५ दिन त्यहा स्वयं सेवकको रुपमा खटिनुभयो । स्वयंसेवक कहिले पनि कामदार, मजदुर हुँदैन । यसलाई अतिरञ्जित नबनाउन म आग्रह गर्न चाहन्छु,’– उनले भने ।
नेपाललाई राजासहितको हिन्दु राष्ट बनाउने अभियानमा १२/१५ वर्षको दौरानामा करोडौं पैसा खर्च गरिसकेको बताउँदै उनले कोटीहोमको दुई÷चार लाखमा पछि लाग्यो भन्ने आरोपमा सत्यता नरहेको बताए । आफूलाई पैसा भन्दा पनि यो देशमा राजासहितको हिन्दु राष्ट्र र संघीयताको खारेजी रहेको बताए ।
साथै, वर्तमान सरकारले केही लेखेको र बोलेको भरमा सन्तोष राजावादीलगायत युवाहरुलाई पक्राउ गरेको उनले बताए । अध्यक्ष खड्काले उनीहरुको तत्काल रिहाइको माग गरे ।
त्यस्तै, जनताले केपी शर्मा ओलीलाई भन्दा काठमाडौंका मेयर बालेन्द्र शाहलाई प्रधानमन्त्रीको रुपमा स्वीकार गरेको उनले टिप्पणी गरे । काठमाडौंका मेयर शाहलाई शाही युवा शक्ति नेपालको जहिले पनि साथ र समर्थन रहेको पनि उनले बताए ।
‘गणतान्त्रिक व्यवस्थाको स्थानीय सरकारको मेयर बालेन शाहको एउटा स्टाटसमा केन्द्रीय सरकार थरथर कामेको छ । यो देशमा जनताको प्रधानमन्त्री भनेको बालेन शाह रहेछन् भन्ने कुरा प्रष्ट भएको छ । त्यो मैले पटक–पटक भनेको छु । बालेन शाहको एउटा स्टाटसले नेपालका प्रधानमन्त्रीको फलोर्स हेर्नुस् त कति घटेको छ ? काठमाडौं महानगरका मेयर प्रधानमन्त्रीभन्दा कतिमुनि हैसियतका हिसाबले । तर, जनताको चाहनाको हिसाबले उहाँ प्रथम हुनुभएको छ । बालेन शाहको पक्षमा शाही युवा शक्ति नेपाल जहिले पनि खम्बासरी उभिएको छ । उहाँलाई हामी जहिले पनि सहयोग गर्छौं,’– उनले भने ।