काठमाडौं, १९ भदौ । शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई ‘जनताको प्रधानमन्त्री’ संज्ञा दिएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले मेयर बालेनको एउटा स्टाटसले केन्द्रीय सरकार नै थरथर कामेको बताए ।
अध्यक्ष शाहीले जनताले केपी शर्मा ओलीलाई भन्दा काठमाडौंका मेयर शाहलाई प्रधानमन्त्रीको रुपमा स्वीकार गरेको दाबी गरे । काठमाडौंका मेयर शाहलाई शाही युवा शक्ति नेपालको जहिले पनि साथ र समर्थन रहेको पनि उनले बताए ।
‘गणतान्त्रिक व्यवस्थाको स्थानीय सरकारको मेयर बालेन शाहको एउटा स्टाटसमा केन्द्रीय सरकार थरथर कामेको छ । यो देशमा जनताको प्रधानमन्त्री भनेको बालेन शाह रहेछन् भन्ने कुरा प्रष्ट भएको छ । त्यो मैले पटक–पटक भनेको छु । बालेन शाहको एउटा स्टाटसले नेपालका प्रधानमन्त्रीको फलोर्स हेर्नुस् त कति घटेको छ ? काठमाडौं महानगरका मेयर प्रधानमन्त्रीभन्दा कतिमुनि हैसियतका हिसाबले । तर, जनताको चाहनाको हिसाबले उहाँ प्रथम हुनुभएको छ । बालेन शाहको पक्षमा शाही युवा शक्ति नेपाल जहिले पनि खम्बासरी उभिएको छ । उहाँलाई हामी जहिले पनि सहयोग गर्छौं,’– उनले भने ।