Logo

राजनीतिक दाउपेचको कोपभाजनमा प्रमुख प्रशासकीय अधिकृत काफ्ले, कार्यकर्ताको दवाबमा मन्त्री गुप्ताले रद्द गरिदिए अमेरिका भ्रमण



काठमाडौं, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण रद्द गरेको छ । काफ्ले आगमी सेप्टेम्बर ९ देखि १३ सम्म संयु्क्त राज्य अमेरिकामा हुनगइरहेको ‘पब्लिक फानान्सिएल म्यानेजमेन्ट एण्ड फिस्कल डिसेन्ट्रालाइजेसन’ प्रोगाममा सहभागी हुन जान काठमाडौं आइसकेकी थिईन् । सो प्रोगाममा सहभागी हुनका लागि उनले अन्तरवार्ता दिएर भिसा जारी भइसकेको थियो । अन्ततः भदौ २१ गते उड्ने तयारीमा रहेकी काफ्लेको भ्रमण रद्द गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत काफ्लेमाथि राजनीतिक पूर्वाग्रह राखेर मन्त्रालयले भ्रमण रद्द गरेको बताइएको छ । जितपुरसिमरा उपमहानगरपालिकाको कार्यपालिकामा उपमेयरसहित नेकपा (एमाले) को दुई तिहाइ बहुमत छ । मेयर राजन पौडेल अल्पमतमा छन् । जसको कारण कर्मचारीहरुलाई काम गर्न पनि गाह्रो छ । उपमहानगरपालिकामा रहेको राजनीतिक खिचातानीको कोपभाजनमा प्रमुख प्रशासकीय अधिकृत काफ्ले परेकी छन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राज कुमार गुप्ता एमालेका नेता हुन् । जितपुरसिमरा उपमहानगरपालिकाका एमाले नेताहरुले मन्त्री गुप्तालाई प्रशासकीय प्रमुख काफ्लेको भ्रमण रद्द गर्न दवाब दिएको बताइएको छ । सोही दवाबस्वरुप गत भदौ १८ गतेको मन्त्रीस्तरीय निर्णयबाट उनको भ्रमण रद्द भएको थियो ।

प्रशासकीय अधिकृत काफ्लेको भ्रमण रद्दबारे प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा मन्त्री गुप्ता र सांसदबीच सवाल जवाफ नै चलेको छ । उक्त सवाल जवाफमा मन्त्री गुप्ताले पूर्वाग्रह राखेर उनको भिसा रद्द गरिएको पुष्टी हुनेगरी बोलेका छन् । प्रशासकीय अधिकृत काफ्लेले मन्त्रालयविरुद्ध मुद्दा हालेको, मन्त्रालयलाई नटेरेको र मन्त्रालयमा बोलाउँदा नआएको कारण उनको भ्रमण रद्द गर्ने निर्णय भएको मन्त्री गुप्ताले सुनाए । ‘मन्त्रालयले उहाँको मुद्दा पनि खेप्ने र नटेर्ने कर्मचारीलाई अमेरिका भ्रमणमा पनि पठाउन हुँदैन भन्ने निष्कर्षमा पुगेर भ्रमण रद्द गरेको हो,’– मन्त्री गुप्ताले भने ।

यस विषयमा प्रमुख प्रशासकीय अधिकृत काफ्लेसँग बुझ्न खोज्दा उनले भ्रमण रद्द भएको पत्र पाएपनि के कारणले रद्द भएको हो भन्ने जानकारी नै नगराइएको बताईन् । ‘भोलि बेलुका (२१ गते) का फ्लाइट थियो । म काठमाडौं आइसकेको थिएँ । मेरो भ्रमण रद्द भएको पत्र पाएँ । के कारणले रद्द भएको हो भन्ने चाहीँ मलाई जानकारी दिइएको छैन,’– रिपोर्टर्स नेपालसँगको कुराकानीमा उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्