Logo

कांग्रेस-एमालेले ०८४ को निर्वाचनसम्म मन, वचन र कर्मले सहकार्य गर्नुको विकल्प छैनः मन्त्री पाण्डे



काठमाडौं, २१ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहकार्य र प्रतिस्पर्धालाई सीमाङ्कन गर्न आवश्यक रहेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस–एमालेबीच कहाँसम्म सहकार्य र कहाँ पुगेर प्रतिस्पर्धा हुने भन्ने निर्यौंल हुन आवश्यक रहेको बताएका हुन् । उनले आगामी २०८४ सालको निर्वाचनको मुख्य प्रतिस्पर्धी दल कांग्रेस–एमाले नै रहेको बताए ।

‘२०८४ को निर्वाचनमा कांग्रेस–एमाले नै मूल प्रतिस्पर्धी राजनीतिक दल हो । ०८४ सम्म हामी मूल सहकार्यमा समाहित हुने दुई ठूला दल पनि हो । त्यसैले हामीले हाम्रो सहकार्य र प्रतिस्पर्धालाई सीमाङ्कन गर्न सक्नुपर्छ । कहाँनिर गएर प्रतिस्पर्धा गर्छौं र कहाँसम्म हामी सहकार्य गर्छौं ?’ उनले भने, ‘सरकार सञ्चालनको सन्दर्भमा देशले अप्ठ्यारो ब्यहोरिरहेको बेला हामी सहकार्य गर्छौं । संयुक्त रुपमा जस अपजसको भागिदार हुन्छौं । कांग्रेसले एमालेलाई दोषी देखाउने, एमालेले कांग्रेसलाई दोषी देखाउने यो काम हामी गर्दैनौं ।’

आमागी निर्वाचनसम्म कांग्रेस–एमालेले मन, वचन र कर्मले सहकार्य गर्नुको विकल्प नै नरहेको उनको भनाइ छ । मन्त्री पाण्डेले जनताले पनि आगामी निर्वाचनमा कांग्रेसबाट मन्त्री र प्रधानमन्त्री बनेकाले राम्रो काम गरेकी एमालेबाट मन्त्री, प्रधानमन्त्री बनेकाले राम्रो काम गरे भनेर मूल्याङ्कन गरेर मत दिनुपर्ने बताए ।

‘सरकारले गर्ने कामहरु, देशलाई सही गन्तव्य र लक्ष्यमा अगाडि लिएर जानुपर्ने छ । यसमा एमाले र कांग्रेसले मन, वचन र कर्मले सहकार्य गर्छौं । आउने निर्वाचनमा म के चाहन्छु भने कांग्रेसका मन्त्रीहरु र कांग्रेसका प्रधानमन्त्रीले राम्रो गर्नुभयो कि एमालेका मन्त्रीहरु र एमालेबाट बन्नुभएको प्रधानमन्त्रीले राम्रो काम गर्नुभयो भन्ने कुरा जनताले छिनोफानो गरेर कसलाई बढी भोट हाल्ने कुराको जनताले. मूल्याङ्कन गरुन्’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्