Logo

प्रचण्डलाई एमाले सचिव अर्यालको सुझावः सधैंभरी युद्धको धम्की दिएर जनता पछि लाग्छन् भन्ने नसोच्नु



काठमाडौं, २१ भदौ । नेकपा (एमाले) की सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बारम्बार उत्तेजना फैलाउने अभिव्यक्ति दिइरहेको टिप्पणी गरेकी छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेतृ अर्यालले प्रचण्डले अब जनताले सधैं युद्ध र विद्रोहमात्रै रोज्छन् भन्ने कुराबाट बाहिर आउन जरुरी रहेको बताएकी छन् । सधैंभरी युद्धको धम्की दिएर जनता पछि लाग्छन् भन्ने नसोच्न उनले प्रचण्डलाई सुझाव दिईन् ।

नेतृ अर्यालले देशको प्रधानमन्त्री भइसकेका प्रचण्ड जिम्मेवार हुन जरुरी रहेको बताईन् । प्रचण्डले सधैंभरी राजनीतिक अस्थिरता चाहिरहेको उनको आरोप छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताले राउन्ड किक हान्छन् भनी प्रचण्डले दिएको अभिव्यक्तितर्फ लक्षित गर्दै उनले भनिन्, ‘उहाँले उत्तेजना फैलाउने कुरा बारम्बार गरिरहनु राम्रो हुँदैन । सधैं जनताले विद्रोहमात्रै रोज्छन् भन्ने कुरा पनि होईन । एउटा समय थियो, उहाँले युद्धको घोषणा गर्नुभयो । त्यतिखेर जनताले साथ दिए, युद्ध सफल भयो । सधैंभरी युद्धको धम्की दिएर जनता पछि लाग्छन् भन्ने कुरा सोच्न पर्दैन । उहाँले राजनीति अस्थिर बनाउने खालको अभिव्यक्ति पनि बन्द गर्नुपर्छ । उहाँ लामो समयसम्म यो मुलुकको प्रधानमन्त्री बन्नुभयो, जिम्मेवार व्यक्ति हो । उहाँको पनि यो मुलुक बनाउने दायित्व हो । त्यसैले आफूबाहेक अर्को कोही जाँदाखेरी देखाइदिन्छु भन्ने अभिव्यक्ति अशोभनीय अभिव्यक्ति हुन् । उहाँले भत्काएर र थर्काएर अब के हुन्छ ?’



प्रतिक्रिया दिनुहोस्