Logo

प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिविबीच समझदारीपत्रमा हस्ताक्षर



काठमाडौँ, २१ भदौ । नेपाल प्रहरीमा राजनीतिक शास्त्रमा स्नातकोत्तर तह सञ्चालन सम्बन्धमा सहकार्य गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डीन प्रा.डा.डिल्लीराज शर्माले प्रहरी प्रधान कार्यालयमा आज उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले वरिष्ठ प्रहरी अधिकृतको वृत्तिविकास र नेतृत्व विकास कोर्षको रूपमा रहने उक्त कार्यक्रम तथा यसमा समाहित विषयले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा देखापरेका नवीनतम् परिवेशअनुरूप कार्यसम्पादन गर्न सक्ने व्यावसायिक र सक्षम जनशक्तिको विकास हुने अपेक्षा लिइएको बताए ।

उनले सङ्गठनको नेतृत्व तहमा पुग्ने क्षमता भएका अधिकृतको क्षमता र दक्षतालाई अभिवृद्धि गर्दै विद्यमान बढुवा प्रणालीलाई समेत पारदर्शी र अनुमानयोग्य बनाउन सहयोगी हुने बताए । उनले यस समझदारीले नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालयबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै दुवै निकायले शान्ति, सुरक्षा एवं सुशासनको क्षेत्रमा निर्वाहित उत्तरदायित्वको दायरा अझ फराकिलो बनाएको विश्वास व्यक्त गरे ।

त्रिवि, व्यवस्थापन सङ्कायका डीन प्रा.डा.शर्माले समझदारीले प्रहरी अधिकृतको क्षमता विकासमा उल्लेखनीय योगदान पुग्ने बताए । उनले आगामी दिनमा समेत थप सहकार्य र समन्वय हुने विश्वास व्यक्त गरे ।

समझदारीपत्रमा अक्षयकोष, एमपिएस कार्यक्रम सञ्चालन, शैक्षिक क्यालेण्डर, विभिन्न शुल्क, विद्यार्थीको विवरण, कोर्षको प्रभाव अध्ययन, शाखा स्थापना एवं विविध कार्य, निरीक्षण र निर्देशन, परीक्षा व्यवस्थापन, परीक्षा केन्द्र, त्रिभुवन विश्वविद्यालय पुस्तकालय तथा सुविधा प्रयोगलगायत विषय उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्