Logo

एकीकृत समाजवादीका महासचिव भुसालको आरोप, ‘केपी ओलीले समाजवादको भाष्य नै बिगार्दिनुभयो’



काठमाडौं, २२ भदौ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादको भाष्य नै बिगारेको आरोप लगाएका छन् । आज (शनिबार) हरि रोकाद्वारा लिखित ‘वैकल्पिक अर्थतन्त्र’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले ओलीले समाजवादलाई चुचे रेल र टावरसँग जोडेर गलत भाष्य निर्माण गरेको बताएका हुन् । उनले पपुलिज्मले पनि नेपालको समाजवादलाई विगारेको उनले बताए ।

‘हाम्रो समाजवादको भाष्यलाई सबैभन्दा बढ्ता त ओलीजीले नै बिगार्दिनुभयो । चुच्चे रेल आउँछ, यो काठमाडौंमा दुई वर्षमा आउन्छ, अर्को वर्ष वेणी जान्छ, अर्को वर्ष कहाँ जान्छ भनेर यो चुच्चे रेलसँग, टावरसँग, केसँग–केसँग यो भाष्य बिगार्दिनुभयो,’– उनले भने ।

आफू मन्त्री भएको बेला तत्कालीन प्रधानमन्त्री पनि रहेका ओलीले गरेको भाषण स्मरण गराउँदै उनले ‘के रोप्ने हो, कहाँ रोप्ने हो ? कस्तो बिउ रोप्ने ?’ लगायतका कुराहरु बिर्सिएर ओलीले ‘रोपे फलिहाल्छ नि’ भन्ने गरेको सुनाए । उनले प्रधानमन्त्री मुलुकको सबैभन्दा ठूलो शिक्षक रहेको बताउँदै लाखौं जनतालाई एक साथ सही शिक्षा दिन सक्नुपर्ने बताए । ‘उहाँ (ओली) ले कसरी बिगार्दिनुभयो भाष्य भने, मैले पटक–पटक सुनेको ‘रोपे फलिहाल्छ नी’ भन्नुहुन्थ्यो । के रोप्ने हो, कहाँ रोप्ने हो ? कस्तो बिउ रोप्ने हो ? यी सारा कुरा छोड्दिएर रोपे फल्छ नि ? हाम्रो समाजवादको भाष्य यसरी पनि विग्रियो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्