Logo

भ्रष्टाचारको मुद्दामा कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीबीच राष्ट्रिय सहमति हुन्छः महासचिव भुसाल



काठमाडौं, २२ भदौ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले भ्रष्टाचारको ठूला मुद्दाहरुमा कांग्रेस, एमाले, माओवादी र आफ्नै पार्टी एकीकृत समाजवादीबीच राष्ट्रिय सहमति हुने गरेको टिप्पणी गरेका छन् । आज (शनिबार) हरि रोकाद्वारा लिखित ‘वैकल्पिक अर्थतन्त्र’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले ४०/५० करोडभन्दा ठूला कुनै पनि भ्रष्टाचारको मुद्दाहरुमा ठूला दलबीच राष्ट्रिय सहमति हुने गरेको आरोप लगाएका हुन् ।

‘४०/५० करोडभन्दा ठूला कुनै पनि भ्रष्टाचारको मुद्दाहरुमा राष्ट्रिय सहमति हुन्छ । त्यहाँ कांग्रेस, माओवादी, एमाले पनि हुन्छ, मेरै पार्टी पनि होला । त्यो नभई अगाडि बढ्दैबढ्दैन । ठूलाहरुको बीचमा राष्ट्रिय सहमति गरेर तिनले पार्टी पनि सक्छन्, राजनीति पनि सक्छन् र मुलुक पनि सकिराखेका छन्,’– उनले भने ।

महासचिव भुसालले एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादको भाष्य नै बिगारेको आरोप लगाए । ओलीले समाजवादलाई चुचे रेल र टावरसँग जोडेर गलत भाष्य निर्माण गरेको उनको बुझाइ छ । उनले पपुलिज्मले पनि नेपालको समाजवादलाई विगारेको बताए ।

‘हाम्रो समाजवादको भाष्यलाई सबैभन्दा बढ्ता त ओलीजीले नै बिगार्दिनुभयो । चुच्चे रेल आउँछ, यो काठमाडौंमा दुई वर्षमा आउन्छ, अर्को वर्ष वेणी जान्छ, अर्को वर्ष कहाँ जान्छ भनेर यो चुच्चे रेलसँग, टावरसँग, केसँग–केसँग यो भाष्य बिगार्दिनुभयो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्