Logo

‘ओली-देउवा एकअर्कालाई धोका दिन ठीक्क परेर बसेका छन्’



काठमाडौं, २३ भदौ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले वर्तमान सरकार धोकाको जगमा उभिएको टिप्पणी गरेका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा एकले अर्कोलाई धोका दिन तम्तयार भएर बसिरहेको बताएका छन् । साइत जुर्नेबित्तिकै एकले अर्कोलाई धोका दिने उनको टिप्पणी छ ।

‘दुवै जना एकले अर्कोलाई धोका दिन ठीक्क परेको देख्छु म त । समयको साइत कहिले जुर्ने भन्नेमात्रै हो । दुईवटा धोकेवाजहरु एक ठाउँमा उभिएर कुनै समय मैले उसलाई, उसले मलाई धोका दिन्छ भनेर, हामीले धोका दिनुपर्छ भनेर तयार भएर बस्नुभएको छ,’– उनले भने ।

उपाध्यक्ष खतिवडाले पार्टीभित्र कुनै अन्तरविरोध नरहेको बताए । व्यक्तिगत रुपमा कसैको असन्तुष्टि रहेपनि संगठित रुपमा कसैको पनि असन्तुष्टि नरहेको उनको भनाइ छ ।

‘व्यक्तिगत रुपमा मान्छेको असन्तुष्टि होला, संगठित रुपमा असन्तुष्टि कसैको पनि छैन । सबैसँग कुराकानी पनि भइरहेकै छ । अलिअलि तनाव त छ । तर, त्यो तनाव व्यवस्थापन गर्न सकिने ढंगले संवाद भइरहेको छ,’– उनले भने ।

पार्टीको आन्तरिक चुनावमा परिजित भएका नेताहरुले अहिले असन्तुष्टि जनाइरहेको र त्यो विस्तारै समाधान हुँदैजाने उनको भनाइ छ । ‘समस्या छैन भन्ने होईन, केही समस्या छन् । समस्या अलि परसम्म बाँकी रहन्छन् । योग्य सक्षम व्यक्ति पनि चुनावमा पराजित हुँदा हामीलाई कतिपय कामको जिम्मेवारी दिन पनि अप्ठ्यारो परेको छ । उहाँहरुको आफ्नो चित्त दुखाइ पनि छ । सबै समस्या व्यवस्थापन गर्न सकिने प्रकारको समस्या छ,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्