Logo

एकीकृत समाजवादीसँग एकता र रास्वपासँग सहकार्यको रणनीतिमा माओवादी



काठमाडौं, २३ भदौ । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले आफूहरु नेकपा (एकीकृत समाजवादी) सँग एकता र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सहकार्यको रणनीतिमा रहेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रास्वपासँग सहकार्य र एकीकृत समाजवादीसँग एकताको पक्षमा कुरा चलिरहेको बताएका हुन् ।

‘रास्वपासँग हामीले एकता भनेका छैनौं, सहकार्य गर्छौं । वैचारिक हिसाबले रविजीहरुको फरक धार भएकाले एजेण्डामा सहकार्य हुन्छ । एकीकरणको सम्भावना कम छ ।’ उनले भने, ‘उहाँसँग चाहीँ कुरा चलिरहेको छ । उहाँसँग अलि बढी आधारभूत कुराहरु मिल्छन् । उहाँहरु अहिले पनि तयार हुनुभएको छैन । छलफल हुँदैछ । भविष्यमा के हुन्छ ? हामीले उठाएको एजेण्डामा सहकार्य गर्छौं ।’

त्यस्तै, नेता पौडेलले कांग्रेस–एमालेले मात्रै संविधान संशोधन गर्न नसक्ने ठोकु्वा गरे । माओवादी र रास्वपालाई बाहिर राखेर संविधान संशोधन गर्न उनले एमाले–कांग्रेसलाई चुनौति दिए । ‘संविधान संशोधनको विषय उहाँहरुको मात्रै ठेक्का हो र ? संविधान संशोधनका लागि दुवै सदनमा दुई तिहाइ नभई पुग्दैन । यो जनताको सरोकारको विषय हो । सर्वदलीय बैठक बसेर, सर्वदलीय बैठकको स्वीकृतिमा अधिकांशको सहमति लिएरमात्रै संविधान संशोधन गर्ने र कतिपय कुराहरु फेर्न सकिन्छ । त्यो कुरा एक्लै गर्छु भनेर सम्भव छैन । उहाँहरुले सक्नुहुन्न । आवश्यक पर्यो भने संविधान संशोधन हुन्छ । अहिले माओवादी वा रास्वपालाई अलग राखेर सम्भव छैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्