Logo

एकीकृत समाजवादी फुटको हल्लाबीच किसानले भने, ‘पार्टीप्रति म असन्तुष्ट छु’



काठमाडौं, २४ भदौ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले पार्टी फुटको हल्लामात्रै चलाइएको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टीप्रति असन्तुष्टि रहेको भएपनि पार्टी फुटाउन आफूले कुनै भूमिका नखेलेको बताएका हुन् ।

‘कसैले जबरजस्ती भनेर हुने कुरा होईन । मेरो प्रष्ट धारणा के हो भने १०औं महाधिवेशन भइसकेपछि वा १०औं महाधिवेशनको क्रममा देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरुबाट अध्यक्ष, महासचिव र सम्मानित नेता सर्वसम्मत गरिसकेपछि अरु पदाधिकारी र पोलिट्ब्यूरोहरु महाधिवेशन प्रतिनिधि हलमा नै छोड्नुपर्छ भन्ने मेरो माग थियो । त्यो माग पूरा नगरेपछि म असन्तुष्ट चाहीँ हो,’– उनले भने ।

साथै, प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र आफूबीच निरन्तर संवादमा रहेको उनले बताए । आफूहरुको भेट राजनीतिक, पारिवारिक, नीति निर्माण या व्यक्तिगत जुनसुकै हुनसक्ने भन्दै उनले यसलाई पार्टी फुटाउनेसँगको विषयलाई जोड्न नमिल्ने बताए ।

‘केपी ओलीसँगको संवाद राजनीतिक, पारिवारिक, नीति निर्माण या व्यक्तिगत होला । तर, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी फुटाउने भन्ने कुरा होईन । यस्ता वाइयत कुरामा नलाग्न म अनुरोध गर्न चाहन्छु,’– उनले भने ।

साथै, एकीकृत समाजवादीको नेतृत्वप्रति आफू असन्तुष्ट रहेको उनले सुनाए । समाजवादीको पदाधिकारी र पोलिटव्यूरो चयनका क्रममा चिट बाँडेर जिताउने र हराउने काम भएको उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्