Logo

धनराजमाथि रास्वपाले उठायो प्रश्न, सहकारी ठगी लुकाउन सम्बन्धविच्छेद गरेको आशंका



काठमाडौं, २४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सहकारी ठगीमा मुछिएको भन्दै संसद्को ध्यानाकार्षण गराएका छन् । धनराजविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) उजुरी परेको बताउँदै उनले उजुरी नपरेको अवस्थामा रास्वपाका सभापति लामिछानेलाई सदनमा गरिएको व्यबहार स्मरण गराए ।

‘मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले आफने संस्थाको करिब १५ करोड रकम हिनामिना गरेकोमा माननिय धनराज गुरुङ र ज्योति गुरुङविरुद्ध ठगी गरेको दाबीसहित उजुरी दर्ता गराउनु भएको रहेछ । माननीय धनराज गुरुङमाथि छानविन हुन्छ कि हुँदैन भनेर म कांग्रेसका माननियहरुलाई प्रश्न गर्न चाहन्छु,’ उनले भने ।

सहकारीको ठगी लुकाउन धनराजले सम्बन्धविच्छेदसमेत गरेको कुरा बाहिर आइरहेको उनले बताए । ‘सहकारी ठगीको छानविनको माग गर्दै अब नेपाली कांग्रेसका माननियज्यूहरुले संसद्को रोस्टम र वेल घेराउ गर्नुहुन्छ कि गर्नुहुन्न ? कि दोहोरो मापदण्ड अपनाउने हो ?’ उनले प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्