काठमाडौं, २५ भदौ । नेपाल सरकारका पूर्व सचिव एवं विश्लेषक भीम उपाध्यायले कांग्रेस–एमाले गठबन्धन सरकारको औचित्य पुष्टि हुन गाह्रो रहेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले कांग्रेस–एमालेले संविधान संशोधनको एजेण्डा अगाडि सारेको भएपनि त्यो असम्भव रहेको बताए । विश्लेषक उपाध्यायले संविधान संशोधन नगरेसँग कांग्रेस–एमाले गठबन्धनको औचित्यतामाथि प्रश्न उठ्ने बताए । उनले आगमी २०८४ को निर्वाचन एकदमै जटिल हुने दाबी गरे ।
‘संविधान संशोधन गर्छु भनेर यो गठबन्धन बन्यो । संविधान कसरी संशोधन गर्ने भन्ने आफैंमा जटिल विषय छ । संशोधन गर्न सक्ने अवस्था पनि त्यति देखिँदैन । अब नसक्ने भए यो गठबन्धनको औचित्य के भनेर प्रमाणित गर्न गाह्रो हुनेछ,’– उनले भने ।
साथै, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई दलका शीर्ष नेताहरुले नै विकल्पको रुपमा बुझेर टक्कर गरिरहेको उनको टिप्पणी छ । विश्लेषक उपाध्यायले बालेन ७ सय ५३ स्थानीय तहमध्ये एउटा स्थानीय तहको प्रमुखमात्रै भएपनि लामो समय योगदान गरेका नेताहरुलाई टक्कर दिइरहेको बताए । उनले नेताहरुको लगभग डेट एक्सपाएर भइसकेकोसमेत टिप्पणी गरे ।
‘उहाँ वैकल्पिक फोर्सको रुपमा जनताको आवाजलाई बोलेको विद्रोहमात्रै हो । उहाँ कुनै राष्ट्रिय राजनीतिमा होईन, ७ सय ५३ स्थानीय तहमध्ये एउटा स्थानीय तहको मेयर हो । तर, ३०औं, ४०औं वर्ष योगदान गरेको, लडेका भिडेकालाई चुनौति दिइराखेका छन् । किन दिइराखेका छन्, सोच्ने कसले हो ? लगभग लगभग डेट एक्सपायर भइसकेका छन् नेताहरु, डेट एक्सपाएर चिज पनि खान मिल्छ ? उनीहरुले बालेन शाहसँग टक्कर गरेको देख्दा बालेन शाहलाई नै विकल्प ठानेकी भन्ने लाग्यो,’– उपाध्यायले भने ।
साथै, उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई क्रिया प्रतिक्रियामा रमाउने नेताको रुपमा चित्रण गरे । उपाध्यायले ओली प्रायः वाक युद्धमा रमाउने गरेको बताए । कसैलाई मन पर्नु, नपर्ने कुरा फरक रहेको उल्लेख गर्दै उनले ओली खारिएको नेता रहेको बताए । ‘केपीजीसँग जसको पनि पर्छ । केपीजी बोल्न पनि डराउनुहुन्न । उहाँ क्रिया, प्रतिक्रियामा रमाउनुहुन्छ । शेरबहादुरजी बोल्दै बोल्नुहुन्न । प्रचण्डजी ठीकैठीकै, धेरै प्रतिक्रिया जनाउनुहुन्न । सुन्नुहुन्छ अहिले । केपीजी जहिले पनि वाक युद्धमा रमाउने मान्छे । उहाँलाई केही पनि फरक पर्दैन । कार्यकर्ताहरुलाई हामीले केपीजीको बारेमा केही बोल्दियो भने उनीहरुलाई रिस उठ्छ । केपीजीलाई केही पनि हुँदैन । हामीलाई मन पर्नु, नपर्ने केही फरक परेन । उहाँ खारिएको नेता हो,’– उनले भने ।