Logo

सहकारी ठगी लुकाउन धनराजले श्रीमतीसँग सम्बन्धविच्छेद गरेको राप्रपा महामन्त्रीको आशंका, भ्रष्टाचारीलाई जेल कोच्न माग (भिडिओसहित)



काठमाडौं, २५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवल शमशेर जबराले सर्वस्व हरणसहितको कारबाही नगरेसम्म भ्रष्टाचार नियन्त्रण नहुने बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भ्रष्टाचारीलाई तत्कालै जेल हाल्नुपर्ने बताएका हुन् । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सहकारी ठगीमा मुछिएकोतर्फ लक्षित गर्दै उनले सो प्रकरण लुकाउन श्रीमतीसँग सम्बन्धविच्छेद गरिएको हुनसक्ने आशंका व्यक्त गरे ।

‘आफ्नो कुराहरु लुकाउन सम्बन्धविच्छेद भइसक्यो भन्ने, सम्बन्धविच्छेद गर्ने ? सबै भ्रष्टाचारी नेताहरुलाई जेलमा हाल्नुपर्छ । यो व्यवस्थाले त्यसो गर्न सक्दैन । भ्रष्टाचार गर्नेलाई तुरुन्त समाएर सर्वस्व हरणको कारबाही नगरी यो देश सुध्रिने स्थितिमा छैन । जो–जसले भ्रष्टाचार गरेको छ, उसको सम्पत्ति जफत गरेर, बेचेर पीडितलाई पैसा फिर्ता दिनुपर्यो नि,’– उनले भने ।

कांग्रेसका उपसभापति गुरुङ र उनकी पूर्व श्रीमती ज्योति गुरुङले ललितपुरस्थित मितेरी सहकारीको १५ करोड ठगी गरेको आरोप छ । सो विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) र सहकारी ठगी छानविन गर्न बनेको संसदीय विशेष समितिमा पनि उजुरी परेको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्