Logo

निर्माण कम्पनीले सडक नबनाइदिएपछि गाउँपालिका अध्यक्षसहित जनप्रतिनिधिहरुले सुरू गरे रिलेअनशन



काठमाडौं, २५ भदौ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिकाका जनप्रतिनिधिहरुले आजदेखि रिले अनशन सुरु गरेका छन् । हुलाकी राजमार्गअन्तर्गतको नारायण चोकदेखि त्रिवेणी सडक खण्डअन्तर्गत रहेको साढे ६ किलो मिटर सडक ६ वर्षसम्म नबनेपछि दवाब स्वरुप उनीहरुले आजदेखि रिले अनशन सुरु गरेका हुन् । आजदेखि इलाका प्रशासन कार्यालय सेमरी परिसरमा गाउँपालिका अध्यक्षसहित जनप्रतिनिधिहरुले रिले अनशन सुरु गरेका छन् ।

उक्त सडक निर्माणको ठेक्का बज्र गुरु कन्स्ट्रक्सनले पाएको थियो । निर्माण कम्पनीका प्रतिनिधिसँग गाउँपालिकाले काम सम्पन्न गर्न यसअघि पनि दवाब दिइरहेको थियो । यसअघि निर्माण कम्पनीले गत असार समान्तसम्म काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको थियो । तर, कुनै पनि काम नभएपछि गाउँपालिकाले दवाबका विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

उक्त ठेक्काको म्याद २०७९ सालमै सकिएको हो । त्यसपछि निर्माण कम्पनीले पटक–पटक म्याद थप गरेर काम नगरी बसेको छ । अहिलेसम्म सो ठेक्काअन्तर्गत गर्नुपर्ने कामको ३० प्रतिशत पनि काम भएको छैन ।

पालिकाले यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायतलाई सो सडक अलपत्र परेको बारे ध्यानाकार्षण पत्र पठाएको थियो । गाउँपालिकाले गत भदौ २३ गते पनि जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

आजबाट सुरु भएको रिलेअनशन २७ गतेसम्म जारी रहने र त्यतिबेलासम्म पनि सम्बन्धित निकायसँग संवादमार्फत यथाशीघ्र काम सम्पन्न गर्ने सहमति नभए गाउँपालिका अध्यक्ष २८ गतेदेखि आमरण अनशन बस्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्