Logo

कांग्रेस पदाधिकारी बैठक जारी, सहकारी ठगीको आरोप लागेका उपसभापति गुरुङको बारेमा छलफल



काठमाडौं, २६ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक जारी रहेको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक जारी रहेको हो । बैठकमा पार्टी उपसभापति धनराज गुरूङमाथि सहकारी बचत सम्बन्धमा उठेको प्रश्नबारे सामुहिक धारणा बनाईने बताइएको छ ।

त्यस्तै, प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले राजीनामा दिएर मार्ग प्रशस्त नगरेको खण्डमा उनलाई महाअभियोग लगाउने विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।

सत्तारुढ दलको बैठकले उपसभामुख रानालाई हटाउनेबारे निर्णय गरिसकेको छ । सभापति देउवाले यसबारे पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको धारणा बुझ्न खोजेका हुन् । राजीनामा दिन उपसभामुख रानालाई प्रतिनिधि सभामा पनि दवाब बढ्दै गएको छ ।

रानाले पदीय मर्यादा र गरिमा जोगाउन नसकेको सत्तारुढ दलका नेताहरुको आरोप छ । उपसभामुख रानाले अमेरिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन केही युवाहरुलाई भिसा सहजीकरण गरिदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेपछि उनी विवादमा रहेकी छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमै सत्तारुढ दलका सांसदले उपसभामुख रानाले राजीनामा दिनुपर्ने माग गरेका छन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्