Logo

एमालेबाट ओलीबाहेक धेरै मान्छे एकीकृत समाजवादीमा आउँदैछन्ः मेटमणि चौधरी (भिडिओसहित)



काठमाडौं, २६ भदौ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं पूर्वमन्त्री मेटमणि चौधरीले प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबाहेक धेरै नेता तथा कार्यकर्ताहरु आफ्नो पार्टीमा आउने तयारीमा रहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमालेमा बोल्न नपाउने, भन्न नपाउने अवस्थालाई विद्रोह गरेर नेताहरु एकीकृत समाजवादीमा आउने बताएका हुन् ।

‘यो ओली पार्टीमा, म त नेकपा (एमाले) पार्टी भन्दिन । एमाले भएको भए मान्छेले बोल्न पाउँथे, भन्न पाउँथे । त्यो ओली पार्टी भएको कारणले ओली पार्टीबाट यस्ता कुराहरु आउँछ कहिलेकाहीँ । हाम्रो पार्टी फुट्दैन । बरु ओली पार्टीमा निकै ठूलो भुकम्प आउँदैछ । ओली पार्टीको संरचनाहरु सबै भत्किन्छ । नयाँ पार्टीहरु बन्नसक्छ । हाम्रो पार्टी अगाडि बढिरहेको छ । ओली पार्टीभित्र निकै ठूलो विद्रोह हुने सम्भावना देख्दैछु । ओलीबाहेक धेरै मान्छे एकीकृत समाजवादीमा आउँदैछन् । मान्छे बोल्न पाउँदैनन्, भन्न पाउँदैनन् । थुकसमेत निल्न पाउँदैनन् । त्यो पार्टीभित्र कतिदिन मान्छे रहन्छन्,’– उनले भने ।

साथै, उनले एकीकृत समाजवादी पार्टी फुट्छ भन्नेमा कुनै सत्यता नरहेको बताए । उनले एमालेलाई ओली पार्टीको संज्ञा दिए । एकीकृत समाजवादी झनै बलियो हुँदै गएको उनले बताए । एमालेमा धेरै भ्रष्ट मान्छे रहेको उनको आरोप छ । भ्रष्टहरुले नै एमालेलाई सक्ने नेता चौधरीको दाबी छ । संख्यात्मक हिसाबले दोस्रो ठूला पार्टी रहेपनि एमालेको पतन सुरु भइसकेको उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्