Logo

कांग्रेस-एमाले गठबन्धन टुट्यो भने नेताहरुलाई राँची लानुपर्छः एमाले नेता बानिया



काठमाडौं, २६ भदौ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री मोहन बानियाले कांग्रेस–एमाले गठबन्धन सरकार आगामी २०८४ सालको निर्वाचनसम्म नै अगाडि जाने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमालेलाई छाडेर कांग्रेस माओवादीसँग मिल्ने र कांग्रेसलाई छाडेर एमाले पनि माओवादीसँग मिल्ने सम्भावना नरहेको बताए ।

उनले कांग्रेस–एमाले सरकार पनि ०८४ को निर्वाचनसम्म नटिकेको खण्डमा नेताहरुलाई राँची लानुपर्ने टिप्पणी गरे । ‘कांग्रेस–एमाले गठबन्धन टुट्दैन । टुट्यो भने राँची लानुपर्छ,’– उनले भने ।

साथै, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)ं अध्यक्ष माधव कुमार नेपाललाई अहिले नै राँची पठाउने बेला भइसकेको उनको टिप्पणी छ । ‘प्रचण्ड र माधव कुमार नेपाललाई चाहीँ राँची पठाए हुन्छ । बेला भइसक्यो । यो मुलुकको दुई तिहाइ बहुमत नजिकको वामपन्थी सरकार ढाल्ने व्यक्ति भएको हुनाले यिनीहरुसित भिजन, मिसन छैन,’– उनले भने ।

राँची मानसिक रोगको उपचारका लागि प्रसिद्ध ठाउँ हो । तत्कालीन समयमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई समेत राँची लगिएको थियो ।



प्रतिक्रिया दिनुहोस्