Logo

रास्वपा नेताको दाबीः धनराज गुरुङले सहकारी ठगेकै हो, केही दिनमा प्रमाण सार्वजनिक गर्छौं’ (भिडिओसहित)



काठमाडौं, २७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सह–प्रवक्ता तथा प्रतिनिधि सभा सदस्य मनिष झाले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारीको रकम अपचलन गरेको प्रमाण आफूसँग रहेको दाबी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले कांग्रेस उपसभापति गुरुङले सहकारी ठगी गरेको र सो प्रकरण मिलाउन नक्कली पारपाचुके गरेको बताएका हुन् ।

‘कांग्रेसको मान्छे आफैं सहकारीको पैसा लिएर, झुठो पारपाचुके गरेर हिँडिरहेको रहेछ । उहाँले यदि गलत नगरेको भए उहाँको आफ्नै समुदायले चलाएको त्यो सहकारीको अध्यक्षले आफैं आएर त्यो मिडियामा कसरी दिन्थ्यो । अझै केही प्रमाण हामी नै दिँदैछौं । पैसा लिएकै हो । स्पष्ट छ नि,’– उनले भने ।

साथै, नेता झाले आफूहरुलाई मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरूङले फोन गरेर उक्त सहकारी ठगीबारे जानकारी गराएको उनले सुनाए । कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा ले रवि लामिछानेले सहकारी ठगी गरेको प्रमाण छ भनेर झुठो बोलेको उनले बताए । प्रमाण नभएर नै महामन्त्रीद्वयले. सर्वाजनिक गर्न नसकेको उनले बताए । रास्वपाले केही दिनभित्र कांग्रेस उपसभापति गुरुङले सहकारी ठगी गरेको प्रमाण सार्वजनिक गर्ने पनि उनले बताए ।

‘त्यहाँको पीडित अध्यक्षले हामीलाई फोन गरेर भनिरहेका छन् । हामी केही दिनमा सार्वजनिक गर्छौं । म विश्वप्रकाश र गगन थापाजस्तो होईन । १२४ दिन अगाडि चाहीँ प्रमाण छ भन्ने, अनि प्रमाण कहिले गृहमन्त्रीले देला भन्ने, कहिले समितितिर देखाउने हामी गर्दैनौं । हामी दिन्छौं भनेपछि दिन्छौं,’– उनले भने ।

अहिले कांग्रेसले रास्वपा र एमालेले माओवादीलाई खेदिरहेको उनले सुनाए । ‘कांग्रेस जहाँ पनि गएर रास्वपाको चर्चा गरेको छ । एमालेले सडकदेखि सदनसम्म माओवादीको खेदो खनेको छ । कहिले जनयुद्धको कुरा गरेको छ, हिंसा भनेको छ, चिढाएको छ । कांग्रेसको वर्षभरीको एजेण्डा नै रास्वपा र सहकारी भएको छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्