Logo

उपसभामुख रानाले राजीनामा नदिए संसदीय प्रक्रियाबाट हटाउँछौंः कांग्रेस नेता घिमिरे (भिडिओसहित)



काठमाडौं, २७ भदौ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले राजीनामा दिएर मार्ग प्रशस्त नगरेको खण्डमा संसदीय प्रक्रियाबाट हटाइने बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उपसभामुख रानाको बारेमा उठेका प्रश्न अत्यन्तै संवेदनशील रहेकाले राजीनामा दिनु उपयुक्त हुने बताए । यस विषयमा अहिले कांग्रेस–एमालेमा आ–आफ्नो दलमा छलफल भइरहेको नेता घिमिरेले बताए ।

‘कार्यक्रमसँग सम्बन्धित नरहेका मान्छेहरुको बारेमा सिफारिस आयो । त्यो अत्यन्तै संवेदनशील भएको हुनाले कांग्रेसले गम्भीरतापूर्वक लिएको हो । उहाँमाथि जुन कुरा उठिरहेको छ, त्यो गम्भीर छ । त्यसले राष्ट्रको शीर निहुँर्याएको छ । उहाँले मार्ग प्रशस्त गर्नुपर्छ हामीले भनेको हो । राजीनामा नआए हामी आफ्नो रणनीति तय गर्छौं,’– उनले भने ।

संविधानको धारा ९१ (६) (ग) मा प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित गराएर सभामुख र उपसभामुखलाई हटाउन सक्ने व्यवस्था रहेको छ । उपसभामुख रानाले राजीनामा नदिएको खण्डमा सोही व्यवस्था बमोजिम हटाउने कांग्रेस–एमालेको तयारी रहेको छ ।

त्यस्तै, नेता घिमिरेले सहकारी ठगी सम्बन्धी छानविनका लागि बनेको संसदीय समितिले चाँडै नै प्रतिवेदन बुझाउने तयारी गरेकाले आफ्ना सांसदहरुलाई काठमाडौं नछाड्न भनेको बताए । उनले यसबीचमा संसदीय दलको बैठक पनि रहेको जानकारी गराए । कांग्रेसले हिजो ह्वीप जारी गरी आफ्ना सांसदहरुलाई काठमाडौं नछाड्न र बाहिर भएका सांसदहरुलाई पनि तत्काल काठमाडौं आउन भनेको थियो ।

‘सहकारीको प्रतिवेदन पनि आउँदैछ । उपसभामुखको विषयमा पनि निर्णय गर्न संसदीय दलको बैठक बस्दैछ । धेरै कुराहरु भएको हुनाले हामीले काठमाडौंमै बस्न भनिएको हो,’– नेता घिमिरेले भने ।



प्रतिक्रिया दिनुहोस्