Logo

रवि लामिछानेलाई उन्मुक्ति दिने हो भने दोहोरो राहदानी र सहकारी काण्डमा जेल परेका सबैलाई छाड्नुपर्छः कांग्रेस नेता विश्वकर्मा (भिडिओसहित)



काठमाडौं, २८ भदौ । नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सहकारी ठगी र दोहोरो नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उन्मुक्ति दिन नहुने बताएका छन् । हिजो (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले लामिछानेलाई उन्मुक्ति दिने हो भने दोहोरो नागरिकता, पासपोर्ट र सहकारी ठगीमा जेलमा रहेका सबैलाई छाड्नुपर्ने बताएका हुन् ।

‘यदि त्यस्तो हो सबैलाई जेलबाट बाहिर निकाल्नुपर्यो । मान्छे त्यही मुद्दामा थुनामा छन् । दोहोरो पासपोर्टमा मान्छे थुनामा छ, दोहोरो राहदानीमा मान्छे थुनामा छ । सहकारीमा पैसा हालिदिने महिला थुनामा छिन् । पैसा खाने मान्छे भाषण गर्दैछ,’– नेता विश्वकर्माले भने ।

रास्वपा सभापति लामिछाने उपप्रधान एवं गृहमन्त्री रहेको बेला आफ्नो मुद्दा जोगाउन सफल भएको उनले बताए । अहिले उनी सत्ताबाहिर रहेको बेला सहकारी ठगीको विषय आइरहेको र राहदानी दुरुपयोग मुद्दा आउनेवाला रहेको उनले बताए ।

‘त्यतिबेला उहाँहरुको गठबन्धनमा सरकार थियो । गृहमन्त्री आफ्नै हुनुहुन्थ्यो । गृहमन्त्रीले आफ्नो नागरिकताको मुद्दा जोगाउन सक्नुभयो, राहदानी र सहकारीको मुद्दा जोगाउन सक्नुभयो । जब उहाँ सत्ताबाट निस्कनुभयो, सहकारीको मुद्दा पनि बाहिर आयो, पासपोर्टको पनि आउँदैछ,’– उनले भने ।

साथै, फरक प्रसंगमा उनले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले संविधान र संसदीय नियमावलीविपरीतको काम गरेको दाबी गरे । उनले उपसभामुख रानाले पदीय मर्यादा जोगाउन नसकेको बताए । उपसभामुख रानाबाट गलत भएको भनेर यसअघि उनी संलग्न दल रास्वपाले नै स्वीकार गरिसकेको उनको भनाइ छ । कानुनको अनविज्ञता क्षम्य नहुने स्मरण गराउँदै नेता विश्वकर्माले उनले मार्गप्रशस्त गर्नु उपयुक्त हुने बताए ।

‘उपसभामुखको पदमा बहाल हुनेवित्तिकै भनेको १९ महिना अगाडि गरेको उहाँका गतिविधिहरु नेपालको संविधानविपरीत, उपसभामुखको पदीय आचरणविपरीत हो । उहाँले गरेको गतिविधि संविधान, संसदीय नियमावलीसम्मत र पदीय मर्यादाअनुरुप छैन । उहाँको पार्टीले पनि स्वीकार गरिसक्यो । प्रवक्ताले भन्नुभयो– भूलवस भयो,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्