Logo

नेपालको भूमि विदेशीको भनेर मेटमणिले अपराधी कुरा गरे, कारबाही गर्छौंः झलनाथ खनाल (भिडिओसहित)



काठमाडौं, २८ भदौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी उपमहासचिव मेटमणि चौधरीले नेपालको भूमि विदेशीको हो भनेर अपराधी कुरा गरेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मेटमणिले एकीकृत समाजवादीको समर्थकले समेत बोल्न नहुने कुरा बोलेको बताए । मेटमणिलाई पार्टीले कारबाही गर्ने उनको भनाइ छ ।

‘त्यो अत्यन्त आपत्तिजनक कुरा हो । एकीकृत समाजवादीको सामान्य सदस्यमात्रै होईन, समर्थकले पनि त्यस्तो कुरा सोच्न सक्दैन । आफ्नो भूमिलाई विदेशीको हो भनेर एकीकृत समाजवादीको नेताले बोल्ने कुरा भनेको त्यो पार्टी विरोधी, देश विरोधी र अपराधी कुरा हो । कसरी मेटमणिको मुखबाट यस्ता कुरा निस्किए ? म आफैं आश्चर्य चकित भएको छु । त्यसबारेमा पार्टीले स्पष्टीकरण सोधिसकेको छ । यो कुरालाई हामी गम्भीरतापूर्वक लिन्छौं । हामी कारबाही गर्छौं,’– नेता खनालले भने ।

एकीकृत समाजवादीका उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य चौधरीले गत भदौ २५ गते प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथि भारतले दाबी पुग्ने बताए थिए । प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले पहिला महाकाली भारतलाई बेचेर आज जनतालाई बेबकुफ र भ्रमित बनाउनका लागि चुच्चे नक्सा निकालेको उनको तर्क थियो ।

‘महाकाली सन्धिपछि भारतले महाकाली नदी मेरो पनि आधा हो भनेर दाबी गर्न थाल्यो । महाकाली सन्धि गर्ने सन्दर्भमा तत्कालीन नेकपा (एमाले) का को–को नेताहरुको ठूलो भूमिका थियो रु हामीले तथ्याङ्कमा कुरा गर्नुपर्छ । त्यसबेला त त्यो प्राप्त हुन्छ, यो प्राप्त हुन्छ, यसो हुन्छ, त्यसो हुन्छ गफ दिनुहुन्थ्यो । आज चुच्चे नक्सा ल निकाल्यो रे । पहिला नदी बेच्ने, त्यही नदी बेचेकै कारणले लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथि भारतले दाबी गरिरहेको छ । मलाई लाग्छ, उसको दाबी पुग्छ, उसले लिन पाउँछ । त्यो भूमिका कसले निर्वाह गर्यो रु भारतको हो नि, बेच्ने अनि होईन भन्न मिल्छ । बेचिसकेपछि त्यो चुच्चे नक्सा, मेरो देशको नक्सा भन्न मिल्छ । यस्तो फटाहगिरी काम कसैले गर्न हुँदैन । त्यसबेला नेकपा ९एमाले० को भूमिका थियो, गल्ती थियो । कोशी नदी बेच्ने काम भयो, गण्डकी बेच्ने काम भयो,’– उनले भनेका थिए ।

नेता चौधरीलाई एकीकृत समाजवादीले यस विषयमा स्पष्टीकरणसमेत सोधिसकेको छ । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले हिजो नेता चौधरीलाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्