Logo

उपसभामुख रानालाई हटाउन खोज्नु कांग्रेस-एमालेको अहंकार र उद्दण्डता होः झलनाथ खनाल



काठमाडौं, २८ भदौ । नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई हटाउन नहुने बताएकी छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उपसभामुख रानालाई महाअभियोग लगाउन खोज्नुलाई कांग्रेस–एमालेको उद्दण्डताको संज्ञा दिए । उपसभामुख रानालाई महाअभियोग लगाउँदा कांग्रेस–एमालेका सांसदहरुले नै विरोध गर्नुपर्ने उनले बताए ।

‘उपसभामुखलाई महाअभियोग लगाउनु गलत हुन्छ । हाम्रो पार्टीले त्यसको विरोध गर्छ । अरु पार्टीहरुलाई पनि हामी भन्छौं, ठूला पार्टीहरुको अहंकार र उद्दण्डताबाहेक केही पनि होईन । यसको हामी सबैले विरोध गर्नुपर्छ । प्रत्येक सांसदले विरोध गर्नुपर्छ । कांग्रेस र एमालेका सांसदहरुले पनि एक पटक छातीमा हात राखेर सोच्ने र त्यस्ता गलत कुरातर्फ लाग्नबाट आफूलाई बचाउने काम गर्नुपर्छ,’– नेता खनालले भने ।

प्रतिनिधि सभाकी उपसभामुख रानाले अमेरिकामा आयोजित एक कार्यक्रममा जान केही युवाहरुलाई सिफारिस गरेर अमेरिकी दूतावासलाई लेखेको पत्र बाहिरिएको थियो । सो पत्र बाहिरिएसँगै कांग्रेस–एमालेसहित सत्तारुढ दलले राजीनामा दिन दवाब दिइरहेको छ । राजीनामामार्फत मार्गप्रशस्त नगरेको खण्डमा महाअभियोगको प्रस्ताव ल्याउने सत्तारुढ दलको तयारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्