Logo

धनराजले श्रीमतीसँग ‘सहकारी डिभोर्स’ गरेको समितिको निश्कर्ष (भिडिओसहित)



काठमाडौं, २८ भदौ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको स्थलगत निरीक्षण गरेको छ । निरीक्षणका क्रममा समितिका पदाधिकारीहरुले सो सहकारीका अध्यक्ष कुम्मराज गुरूङसँग छलफलसमेत गरेको छ ।

मितेरी सहकारी अहिले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग जोडिएर चर्चामा छ । धनराजकी तत्कालीन श्रीमती ज्योति गुरुङ सो सहकारीको सञ्चालक थिईन् । धनराज र ज्योतिबीच २०७६ सालमै सम्बन्धविच्छेद भइसकेको छ । मितेरीबाट धनराज र उनकी तत्कालीन श्रीमती ज्योतिले १५ करोड अपचलन गरेको आरोप छ ।

समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीलगायत निरीक्षणमा गएका पदाधिकारीहरुले अध्यक्ष गुरुङसँग सो सहकारीबाट धनराज र ज्योतिले गरेको अपचलनको बारेमा प्रश्न गरेका थिए । मितेरीका अध्यक्ष कुम्मराजले धनराज र ज्योतिले हिनामिना गरेको रकम फिर्ता हुँदा सबै बचतकर्तालाई बचत फिर्ता गर्न सकिने बताए ।

उनीहरुबीच ०७६ सालमै डिभोर्स भएको भनिए पनि धनराजले केही महिनाअघि आएर ज्योतिको केही ऋण तिरेको अध्यक्ष कुम्मराजले बताए । ‘धनराजले आएर तिरेको । धेरै भएको छैन, एक महिना जति भयो होला । डिभोर्सको कुरै नगर्नुस् । डिभोर्स भएकै होईन वास्तविक,’– कुम्मराज भन्छन् ।

कुम्मराजले यसो भनेपछि समितिका एक सदस्यले ‘सहकारी डिभोर्स’ भनी टिप्पणी गर्छन् ।



प्रतिक्रिया दिनुहोस्