Logo

कृषि क्याम्पस रामपुरमा नेविसंघका कार्यकर्ता कुटिएको घटनाको उचित छानविन र दोषीमाथि कारबाहीको माग



काठमाडौं, २८ भदौ । नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर ईकाइका पदाधिकारीहरुले आफूहरुमाथि सुनियोजित ढंगले भौतिक आक्रमण भएको बताएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले गत भदौ १३ गते नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियू सम्बद्धहरुले आफुहरुमाथि ज्यान मार्ने उद्देश्यले भौतिक आक्रमण गरेको बताएका हुन् । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूमा आवद्ध १५० भन्दा बढी हतियारधारी समूहले आक्रमण गरेको उनीहरुको दाबी छ ।

नेविसंघ रामपुर क्याम्पसका निवर्तमान अध्यक्ष शुभम् सिंहले उक्त घटनामा अनेरास्ववियूका एकराज पराजुली र महेश खड्काको मुख्य हात रहेको बताए । उक्त घटनामा घाइते भएका कमन दहाल र प्रितम भण्डारीको चितवनमा उपचार सम्भव नभएको निवर्तमान सभापति सिंहले बताए । कमनको महाराजगञ्जस्थित टिचिङ्ग अस्पताल र प्रितमको वीर अस्पतालको सघन कक्षमा उपचार भएर हिजो डिस्चार्ज भएको उनले सुनाए । घाइते कमनको आँखाको ज्योति कहिले पनि नफर्किने गरी गुमेको उनले बताए ।

घटना भएको १५ दिन बितिसक्दा पनि दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि नबढाइएको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरे । घटनमा संलग्नहरुलाई राजनीतिक संरक्षण प्राप्त हुँदा प्रहरीसमेत मुकदर्शक बनेको उनीहरुको आरोप छ ।

दोषीलाई कानुनी कारबाही, घाइतेहरुको उपचार खर्च कलेज प्रशासनले व्यहोर्नुपर्ने र छात्रवासको स्तरोन्नती र सुरक्षामा ध्यान दिइनुपर्ने उनीहरुको माग छ । यी मागहरु पूरा भएको खण्डमा कजेलमा लागेको ताला खोल्न नेविसंघ तयार रहेको सिंहले बताए ।



प्रतिक्रिया दिनुहोस्