Logo

उपसभामुख रानालाई हटाउने निर्णय गर्न हच्कियो एमाले, के गर्ला कांग्रेस ?



काठमाडौं, २८ भदौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने सन्दर्भमा पार्टी निश्कर्षमा पुग्न बाँकी रहेको बताएका छन् । आज (शुक्रबार) सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस विषयमा एमालेले अहिले केही निर्णय नगरेको बताएका हुन् ।

‘अहिले के गर्ने भन्ने कुरामा हामी निश्कर्षमा पुगिसकेका छैनौं । यो संसदको मामिला हो । संसदलाई कसरी मर्यादित बनाउने भन्ने कुरामा संसदीय दलले र संसदले गर्ने काममा पार्टीको पूर्ण समर्थन रहन्छ,’– उनले भने ।

उपसभामुख रानामाथि उठेका प्रश्नहरुका बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले र उपसभामुख राना स्वयंले स्पष्ट गर्नुपर्छ भन्ने एमालेको मान्यता रहेको महासचिव पोखरेले बताए । उपसभामुख रानाका विषयमा अहिले आइरहेका कुरा सत्य हुन् भने उनी पदमा बस्न उपयुक्त नरहेको उनले बताए ।

एमालेले अहिलेसम्म उपसभामुख रानाका बारेमा आइरहेको विषय सत्य हो कि होईन भनेर निर्क्यौल नै गर्न सकेको छैन । यता नेपाली कांग्रेसले आगामी भदौ ३० गते नै उपसभामुख रानालाई हटाउन संसद्मा प्रस्ताव पेश गर्नुपर्ने दवाब दिइरहेको स्रोतको दाबी छ । रानालाई पदबाट हटाएर कांग्रेसबाट उपसभामुख बनाउने समझदारी भएको छ । सोही कारणले पनि यस विषयमा कांग्रेसले जोडबल गरिरहेको छ । यता उपसभामुख रानालाई हटाउन दुई तिहाइ बहुमत नपुग्ने अवस्था आउनसक्ने आँकलन गरेको एमाले भने हच्किएको छ ।



प्रतिक्रिया दिनुहोस्